after_navbar

बिमा रकम उपलव्ध नभए कसानले आन्दोलन गर्ने


जेठ २४, २०८१


चितवन,२४ जेठ । केराखेतीमा भएको नोक्सानको बिमा रकम तत्काल उपलव्ध नभए आन्दोलन गर्ने किसानहरुले चेतावनी दिएका छन् । हावाहुरीका कारण केरा खेतीमा नोक्सानी व्यहोरेका किसानहरूले पत्रकार सम्मेलन गरेर बिमा बापतको रकम नपाए चरणबद्ध आन्दोलन गर्ने जानकारी गराएका हुन् ।

जेठ १७ गतेदेखि २० गतेसम्म चितवनमा आएको हावाहुरीले १५ करोड रुपैयाँ बराबरको केरा खेतीमा क्षति गरेको चितवन केरा उत्पादक संघका अध्यक्ष माधवप्रसाद घिमिरेले बताए ।
‘नोक्सान भएमा राहत होस् भनेर केरा किसानहरूले कृषि बिमा गरेका छन् । तर गत वर्ष नोक्सान भएकोमध्ये साढे दुई करोड रुपैयाँ अझसम्म भुक्तान भएको छैन,’ अध्यक्ष घिमिरेले भने ।

उनले गत वर्षको रकम तत्काल भुक्तान गर्न, यो वर्ष भएको क्षति एकिन गरी कागजपत्र बुझाएको ३५ दिनभित्र बिमा रकम दिन उनले माग गरे । साथै कृषि कर्जाको सहुलियत दरको ब्याज सिघ्र उपलब्ध गराउनु पर्ने उनको भनाइ छ ।
‘नेपाल सरकारले यहाँका किसानको व्यवसाय जिवन्त राख्न यी माग तत्काल पूरा गर्नु पर्ने छ । नभए चितवनका केरा किसानहरू चरणबद्ध आन्दोलन गर्न बाध्य हुने छन्,’ अध्यक्ष घिमिरेले भने ।
एउटा केराको बोटको लागत मूल्य २७५ रुपैयाँ कायम गरेर बिमा गरिएको हुन्छ । बिमाको प्रिमियम रकममा ८० प्रतिशत सरकारले अनुदान दिएको हुन्छ । २० प्रतिशत हिस्सा किसानले बेहोर्ने नीति छ ।
‘सरकारले उपलब्ध गराउने प्रिमियमको ८० प्रतिशत हिस्सेदारी बराबरको रकम बिमा कम्पनीहरूले नपाएका कारण भुक्तानी नभएको हो,’ केरा बिमा धेरै गर्ने शिखर इन्स्योरेन्सको वाग्मती प्रदेश उपप्रमुख अरुणदेव आचार्यले भने ।

प्रतिक्रिया दिनुहोस

data-href="