काठमाडौँ,२४ जेठ । सहकारीको बचत हिनामिना र अपचलन गर्ने संस्था र व्यक्तिमाथि छानबिन गर्न गठित संसदीय छानबिन समितिको पहिलो बैठकले कार्यविधि र कार्ययोजनाको मस्यौदा बनाउन समिति सचिवालयलाई जिम्मेवारी दिएको छ । समिति गठनको ९ दिनपछि बुधबार पहिलो बैठक बसेको हो ।
सभामुख देवराज घिमिरेको उपस्थितिमा भएको समितिको पहिलो बैठकमा आन्तरिक कार्यविधि र कार्ययोजनाको मस्यौदा तयार गर्ने जिम्मेवारी समिति सचिवालयलाई दिइएको सभापति सूर्य थापाले जानकारी दिए ।
सहकारी संस्थाको बचत रकम हिनामिना गरेको विषयमा छानबिन गर्नका लागि जेठ १५ मा थापाको नेतृत्वमा संसदीय विशेष समिति गठन गरिएको थियो । समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसका ईश्वरी न्यौपाने र बद्री पाण्डे, माओवादीका लेखनाथ दाहाल, रास्वपाका शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य छन् ।
समितिले आगामी शुक्रबार आन्तरिक कार्यविधि र कार्ययोजनाको मस्यौदा पेस गर्न समिति सचिवालयलाई भनेको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको समितिको पहिलो बैठकले दुई दिनभित्रमा समितिको आन्तरिक कार्यविधि र कार्ययोजनाको मस्यौदा तयार गर्न समिति सचिवालयलाई निर्देशन दिएको हो ।
समितिको पहिलो बैठकमा सभामुख घिमिरेले प्रतिनिधिसभाबाट पारित समितिको कार्यादेश, राजनीतिक दलहरूका बीचमा भएको सहमति, कार्यक्षेत्र र अनुसूचीमा समावेश भएका सहकारीको नामावलीसहितको दस्तावेज समिति सभापति थापालाई हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस