रुकुम पश्चिम, २६ जेठ । रुकुम पश्चिमबाट जुम्ल्याहा छोरासहित एक महिला बेपत्ता भएकी छिन्। जिल्लाको बाफिरकोट गाउँपालिका वडा नम्बर ८ बस्ने २४ वर्षीय अंकिता केसीनाथ दुई छोरासहित बेपत्ता भएकी हुन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार अंकिता ७ वर्षका दुई छोरा कुशल नाथ र किस्मत नाथ सहित गत जेठ १३ गतेदेखि बेपत्ता भएकी हुन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार घरबाट जिल्ला अस्पताल सल्लेमा चेकजाँचका लागि भन्दै हिँडेकी र हालसम्म पनि परिवारको सम्पर्कमा नआएकाले खोजी कार्यका लागि निवेदन प्राप्त भएको छ।
अंकिताका ससुरा बुबा हरिबहादुर नाथले बुहारी र नातिहरूको खोजीकार्यको मागसहित प्रहरीमा निवेदन दिएका। बेपत्ता भएकी महिलाका श्रीमान वैदेशिक रोजगारीको लागि विदेश गएका थिए श्रीमती र छोरा बेपत्ता भएको खबरपछि उनी खोजी कार्यका लागि नेपाल फर्किएका छन्।
प्रहरी निरीक्षक शाहीले सबैतिर हुलिया परिपत्र गरिएको बताए। घरपरिवारबाट सम्पर्कविहीन आमा छोरालाई देख्ने वा भेट्नले नजिकैको प्रहरी चौकी वा आफन्तलाई सम्पर्क गरिदिन अनुरोध गरिएको छ।
प्रतिक्रिया दिनुहोस