दाङ,१२ असार । लुम्बिनी प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको बुधबार बसेको २३ औँ प्रदेशसभा बैठकले आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट बहुमतले पारित गरेको हो। आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रदेश सभाको बैठकमा प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव ध्वनि मतको आधारमा बहुमतले पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गरे ।
मन्त्री आचार्यलये प्रदेश सभामा आगामी आवका लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका थिए । जसमध्ये चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार अर्थात् २८ दशमलव ८७ प्रतिशत र पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख अर्थात् ६३ दशमलव ०९ प्रतिशत विनियोजित गरिएको थियो ।
प्रदेशसभाको चौँथो अधिवेशनको तेह्रौं बैठकमा प्रस्तुत भएको बजेटमा वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड १३ लाख १६ हजार अर्थात् ८ दशमलव ०६ प्रतिशत अनुमान गरिएको थियो । लुम्बिनी प्रदेशको समग्र आर्थिक क्षेत्रलाई चलायमान बनाउँदै उच्च, दिगो आर्थिक वृद्धि सहितको आर्थिक स्थायित्व कायम गर्दै आर्थिक विकासमा जोड दिइएको मन्त्री आचार्यको भनाइ छ ।
आगामी वर्षमा अनुमान गरिएको खर्च बेहोर्ने स्रोत आन्तरिक राजस्वमार्फत ७ अर्ब ५१ करोड र संघबाट प्राप्त हुने राजस्वमार्फत १२ अर्ब १ करोड र सङ्घबाट प्राप्त हुने रोयल्टी ५० करोड र स्थानीय तहबाट प्राप्त हुने राजस्व २ अर्ब ९२ करोड हुने अनुमान छ ।
आर्थिक वर्ष २०८१–८२ बजेटको यो आकार चालु आर्थिक वर्षको भन्दा १ अर्ब ५१ करोडले घटेको थियो । लुम्बिनी प्रदेशले नीति तथा कार्यक्रममा उल्लेख गरेअनुसार नै विगतका कार्यक्रमलाई निरन्तरता दिँदै कार्यक्रमलाई विस्तार गर्ने योजनाका साथ बजेट विनियोजन गरेको छ ।
बजेटको प्राथमिकता, सिद्धान्तमा कृषि क्षेत्रलाई जोड दिएको कार्यक्रमलाई बजेटबाट सम्बोधन गर्ने प्रयास भएको छ । किसानको हात प्रदेशको साथ रहेको भन्दै कृषि क्षेत्रका लागि १० करोड बजेट विनियोजन गरिएको छ । यस्तै ५ करोड १६ लाख, माटो व्यवस्थापन कार्यक्रम, प्राङगारिक मलको लागि १४ करोड विनियोजन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस