दाङ,१७ पुस। नेपाली सेनाको १९ नं बाहिनी अड्डाले निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेको छ। सो अबसरमा रहेका आश्रितहरूलाई न्यानो कपडा समेत प्रदान गरेको छ। २१औं वार्षिक उत्सवको अवसरमा मानव सेवा आश्रम तुलसीपुरमा स्वास्थ्य चेक जाँच तथा न्यानो कपडा वितरण गरिएको बाहिनीले जनाएको छ ।
श्री नं १९ बाहिनी अड्डाको आयोजना र फिल्ड एम्बुलेन्स गुल्मको सहयोगमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित मानव सेवा आश्रममा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। उक्त शिविरमा ४६ जनाको निःशुल्क स्वास्थ्य चेक जाँच र औषधि एवम् न्यानो कपडा वितरण गरिएको हो।
कार्यक्रममा २९ पुरुष र १७ महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो।
उनीहरूले सेनाले देखाएको आत्मीयता र सेवाभावप्रति प्रशंसा व्यक्त गर्दै यस्तो गतिविधिले समाजमा सकारात्मक सन्देश दिने बताए।समाजप्रति आफ्नो दायित्व निर्वाह गर्न र मानव सेवामा सेनाको योगदानलाई सुदृढ गर्दै लैजान नेपाली सेना संधै प्रतिवद्द रहेको सेनाका अधिकृतहरुले बताएका थिए। कार्यक्रममा मध्यपश्चिम पृतनाका पृतनापति उपरथी प्रेमबहादुर पुन,नं १९ बाहिनीका बाहिनीपति सहायक रथी पदमबहादुर बुढा ( पिएचडी) तथा अन्य अधिकृतहरूको विशेष उपस्थिति रहेको थियो।
मानव सेवा आश्रम तुलसीपुरका संयोजक हिरु जोशीले नेपाली सेनाले आश्रमप्रति देखाएको सद्भाव र सहयोगको प्रशंसा गरे।
प्रतिक्रिया दिनुहोस