कपिलवस्तु, ५ माघ। प्रहरीले स्रोत नखुलेको रकमसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले स्रोत नखुलेको १५ लाख ७० हजार रुपैयाँसहित कपिलवस्तुबाट एकजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मायादेवी गाउँपालिका–७ बसन्तपुर निवासी ३० वर्षीय निरज कुमार मिश्र रहेको इलाका प्रहरी कार्यालय पकडीले जनाएको छ।
प्रहरी टोलीले मायादेवी गाउँपालिका–६ स्थित डुमरा चोकबाट मिश्रलाई रातो रंगको लेडिज साइकलमा कालो झोला बोकी बर्रोहियादेखि तौलिहवा जाँदै गरेको अवस्थामा पक्राउ गरेको हो।
झोलाबाट प्रहरीले विभिन्न दरका नेपाली नोट बरामद गरेको छ। प्रहरीले १ हजार नोट ८ सय ९० थान, ५ सय नोट १ हजार ३ सय २० थान, १ सय नोट १ सय ८० थान, ५० को नोट ४० थान गरी १५ लाख ७० हजार नेपाली रुपैयाँ बरामद गरेको हो ।
बरामद रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को ९(क) अन्तर्गत हुण्डी कारोबारको आशंकामा मुद्दा दर्ता गरेको छ।
पक्राउ परेका मिश्रलाई कपिलवस्तु जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको सम्बन्धमा थप विवरण संकलन गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस