दाङ,११ माघ।लमही नगरपालिका-७, बन्गैमा नवनिर्मित नगरस्वास्थ्य केन्द्रको भवन शुक्रबार उद्घाटन गरिएको छ। लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीले भवनको औपचारिक उद्घाटन गर्दै स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर नगरपालिकाले विकासका कामलाई अगाडि बढाइरहेको बताए।
२०७७/०७८ मा टेण्डर आह्वान गरी ६५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको दुईतले भवनमा ८ कोठा र किचनसहितको सुविधा छ। चारैतिर पर्खालले घेरिएको यस भवनले स्थानिय बस्तीका झण्डै आठ सय घरधुरीलाई सेवा पुर्याउनेछ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख चौधरीले, “नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर प्रभावकारी सेवा प्रदान गरिरहेको छ। अब नगरबासीले यस केन्द्रबाट सजिलै स्वास्थ्य सेवा पाउनेछन्,” भने।
कार्यक्रममा जनशक्तिको अभावका कारण स्वास्थ्य सेवा प्रभावकारी बन्न नसकेको सहभागीहरूले जनाए। हाल केन्द्रमा एक जना अहेब र एक जना कार्यालय सहयोगी मात्र कार्यरत छन्। यसबारे प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले आवश्यक कर्मचारी व्यवस्थापनका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको अवसरमा वडा नम्बर ७ मा कार्यरत ८ जना स्वास्थ्य स्वयंसेविकालाई उत्कृष्ट सेवाका लागि सम्मान गरिएको छ। सम्मानित हुनेमा धनकुमारी चौधरी, छोट्कनिया चौधरी, निर्मला शर्मा, अनु थापा, अञ्जु चौधरी, सुष्मा चौधरी, कमला कुँवर र मुना परियार रहेका छन्। उनीहरूलाई फूलमाला, दोसल्ला, र कदरपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा वडा अध्यक्ष तथा नगरप्रवक्ता मोहन गिरीले वडाको समृद्धिका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाए। उद्घाटन समारोह वडा सदस्य उर्मिला चौधरीको स्वागत मन्तव्य र नगरस्वास्थ्य केन्द्र प्रमुख निर्मला बोहराको सहजीकरणमा सम्पन्न भएको थियो।
प्रतिक्रिया दिनुहोस