after_navbar

राप्तीसोनारीमा पाटेबाघ मृत फेला


माघ ११, २०८१



बाँके,११ माघ।बाँकेको राप्तीसोनारी गाउँपालिका–१ स्थित कोर क्षेत्रमा पाटेबाघ मृतावस्थामा फेला परेको छ। आज बिहान बाँके राष्ट्रिय निकुञ्जको गस्ती टोलीले बाघको शव फेला पारेको हो।

निकुञ्जका सूचना अधिकारी मन्दीप पँगेनीका अनुसार मृत बाघको पछाडिको भागलाई अन्य वन्यजन्तुले खाएको अवस्थामा भेटिएको छ। “बाघको अवस्था हेर्दा दुई–तीन दिनअघि नै मरेको हुन सक्ने अनुमान गरिएको छ,” उनले जानकारी दिए।

निकुञ्जका प्रमुख वीरेन्द्र कँडेलले पाटेबाघको मृत्यु प्राकृतिक भएको प्रारम्भिक आकलन गरिएको बताए। मृत बाघको फरेन्सिक परीक्षणका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट चिकित्सक टोली पठाइएको छ।

निकुञ्ज गस्ती टोलीले दैनिकरूपमा कोर क्षेत्र र मध्यवर्ती क्षेत्रमा बिहान, दिउँसो र साँझ गस्ती गर्ने गरेको प्रमुख कँडेलले बताए। मृत पाटेबाघको उमेर १२ देखि १३ वर्षको रहेको अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="