after_navbar

आज ७२औँ विश्व कुष्ठरोग दिवस


माघ १३, २०८१


काठमाडौं ,१३ माघ। आज ७२औँ विश्व कुष्ठरोग दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ। कुष्ठरोग प्रभावितलाई जागरूक बनाउने, सम्मान गर्ने र रोगीप्रतिको भेदभाव अन्त्य गर्ने उद्देश्यले यो दिवस हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार मनाइन्छ।

सन् १९५४ मा सुरु भएको यो दिवस विश्वभर कुष्ठरोगप्रति जनचेतना फैलाउन महत्त्वपूर्ण मानिन्छ।

सन् १८७३ मा नर्वेका वैज्ञानिक डा। जीए ह्यानसनले कुष्ठरोग सूक्ष्मजीवाणुका कारण हुने रोग हो भन्ने पत्ता लगाएका थिए। यसैले, यो रोगलाई ह्यानसेन्स रोग पनि भनिन्छ। यस वर्ष “एकजुट हौं, कार्य गरौं र उन्मूलन गरौं” भन्ने नारासहित दिवस मनाइँदैछ।

नेपालमा माइकोब्याक्टेरियम लेप्रे नामक सूक्ष्म किटाणुका कारण हुने कुष्ठरोगले वर्षेनी करिब २ देखि ३ हजार बिरामीलाई प्रभावित बनाइरहेको छ। यद्यपि, नेपालले सन् २०१० मा प्रति १० हजार जनसंख्यामा १ जना भन्दा कम रोगी भएको अवस्थामा यो रोग निवारण भएको घोषणा गरिसकेको छ। तर, उन्मूलनका लागि अझै धेरै काम गर्न बाँकी रहेको स्वास्थ्यकर्मीहरू बताउँछन्।

विश्व स्वास्थ्य संगठनले कुष्ठरोगको उन्मूलनका लागि सरकार, स्वास्थ्य सेवा प्रदायक, गैरसरकारी संस्था, समुदाय र व्यक्तिगत प्रयासलाई एकीकृत गर्नुपर्नेमा जोड दिएको छ। समयमै रोगको निदान, प्रभावकारी उपचार र सहज पहुँचमा निरन्तर लगानी आवश्यक रहेको संगठनको भनाइ छ।

कुष्ठरोगप्रति समाजमा रहेको भेदभाव र कुण्ठालाई अन्त्य गर्न हरेक व्यक्ति र समुदायले आ–आफ्नो तहबाट योगदान गर्नुपर्नेमा सरोकारवालाहरूले आग्रह गरेका छन्। दिवसका अवसरमा देशभर जनचेतनामूलक कार्यक्रम, गोष्ठी, छलफल र स्वास्थ्य शिविरहरू सञ्चालन गरिएका छन्।

कुष्ठरोग उपचार सम्भव भए पनि समयमै रोग पत्ता नलाग्दा यसले मानिसको जीवनमा गम्भीर असर पार्न सक्छ। रोगले गर्दा अंगभंग हुन सक्ने जोखिम भएकाले प्रारम्भिक निदान र नियमित उपचार महत्त्वपूर्ण मानिन्छ।

प्रतिक्रिया दिनुहोस

data-href="