रुपन्देही,१८ माघ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरेक क्षेत्रमा उत्कृष्टता हासिल गरे विदेश जाने सपनाको आवश्यकता नपर्ने बताएका छन्।
न्यू होराइजन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय, बुटवल–११ को ३५औं वार्षिकोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्वदेशमै अवसर सिर्जना गर्न सकिने बताउँदै नवप्रवर्तन (इनोभेसन) को क्षेत्रमा काम गर्न विद्यार्थीहरूलाई प्रेरित गरे।
मुख्यमन्त्री आचार्यले भने, “विद्यार्थीहरूले हरेक क्षेत्रमा उत्कृष्टता हासिल गरे विदेश जाने सपना देख्नुपर्दैन। आफ्नै देशको भूमिमा अवसर सिर्जना गर्न सकिन्छ। देशलाई तपाईंहरूको योगदानको खाँचो छ।”
उनले प्रदेश सरकार शैक्षिक गुणस्तर सुधार्न विशेष योजना बनाएर अघि बढिरहेको जानकारी दिँदै पठन संस्कृति, अनुसन्धान र खोजमूलक शिक्षालाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। विद्यालयको शैक्षिक अवस्था सुधार्न सबै पक्षको जिम्मेवारी आवश्यक रहेको उनले बताए।
मुख्यमन्त्री आचार्यका अनुसार प्रदेश सरकारले शिक्षामा आमूल परिवर्तन गर्ने लक्ष्य लिएको छ। उनले निजी क्षेत्रको भूमिकालाई महत्त्वपूर्ण ठहर गर्दै प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षाको विकासलाई अघि बढाउने स्पष्ट पारे।
मुख्यमन्त्री आचार्यले न्यू होराइजन विद्यालयले शैक्षिक मात्र नभई विभिन्न क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्याएको बताए।
उनले लुम्बिनी प्रदेशबाटै गुणस्तरीय शिक्षा प्रदान गरी उत्कृष्ट नतिजा निकाल्न विद्यालय सफल भएको उल्लेख गर्दै सामुदायिक तथा संस्थागत विद्यालयहरूले न्यू होराइजनबाट धेरै सिक्न सक्ने धारणा राखे।
वि.सं. २०५६ सालदेखि २०८१ सम्म विद्यालयले विभिन्न परीक्षा र चुनौतीहरू पार गर्दै आफूलाई सर्वोकृष्ट स्थानमा उभ्याउन सफल भएको जानकारी सो अवसरमा गराइएको थियो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस