दाङ,३ असार। अमेरिकी सपनालाई पछ्याउँदै जीवन बदल्न घर–परिवारको ऋण रक्ष गरेर तल्लो बाटो हुँदै अमेरिका पुगेका दाङका युवाहरू अहिले ‘डिपोर्ट’को सूचीमा सबैभन्दा अगाडि छन्।
अमेरिकाबाट निष्कासित (डिपोर्ट) गरिएका १६३ नेपालीमध्ये दाङका ५१ जना परेका छन्। उनीहरूमध्ये अधिकांश युवा उमेरका छन्, जसले घर फर्कँदा हातमा सफलता होइन, पीडा र लज्जाको भारी बोकेका छन्।
वर्षौंसम्म बिचौलियालाई लाखौं बुझाएर अमेरिका पुगेका ती युवा त्यहाँको कठोर आप्रवासी नीतिमा परेर चुपचाप फर्काइएका हुन्। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएदेखि लागू गरिएको आप्रवासी नीतिका कारण दाङ, पश्चिम रुकुम (३० जना) र पूर्वी रुकुम (१३ जना) लगायतका जिल्लाका युवाहरू फर्कन बाध्य भएका हुन्।
अमेरिका पुगेकाहरू मध्ये अधिकांश संगठित मानव तस्कर गिरोहमार्फत तल्लो रुट (अवैध बाटो) हुँदै पुगेका थिए। यस्ता गिरोहले भारत, दुबई, मेक्सिको लगायत देश हुँदै अमेरिका पुर्याउने नाउँमा लाखौं असुल्ने गरेका छन्।
अहिलेसम्म डिपोर्ट भएकाहरूमा १४६ पुरुष र १७ महिला छन्। केहीलाई गम्भीर आपराधिक मुद्दामा परेकाले चार्टर्ड विमानबाट जबर्जस्ती फिर्ता गरिएको हो भने केहीले नियमित उडानमार्फत आफैं फर्कन स्वीकार गरेका थिए।
डिपोर्ट मात्र कानुनी प्रक्रिया होइन, यो थुप्रै नेपाली युवाका अधुरा सपना, टुटेका भरोसा र हेपिएका जीवनको दस्तावेज हो। विशेषगरी दाङजस्ता जिल्लाका युवाहरूको अवस्था देख्दा समस्या केवल आप्रवासी नीति होइन, देशभित्रको रोजगारीको अवसरको अभाव पनि हो।
सरकारले विदेश जान खोज्ने युवालाई वैधानिक, सुरक्षित र पारदर्शी प्रक्रियाबाट जान प्रेरित गर्नुका साथै बिचौलियाको नियन्त्रणमा कडाइ गर्न सक्नुपर्छ। नत्र, दाङका गल्लीहरूमा अझ धेरै अधुरा अमेरिका फर्किएका सपना भौतारिइरहनेछन्।
प्रतिक्रिया दिनुहोस