after_navbar

कक्षाकोठादेखि घरदैलोसम्मः सगरमाथाको समुदायमैत्री शिक्षा


१ घण्टा अगाडि


दाङ,२४ साउन। दाङको तुलसीपुरमा रहेको एक विद्यालयले समुदायमैत्री शिक्षालाई अवलम्वन गरेको छ । अभिभावक,शिक्षक र विद्यार्थीबीच त्रिपक्षीय सम्बन्ध बलियो बनाउने , योजनाबद्ध सिकाइ संस्कृतिको विकास गर्दै विद्यालय शिक्षालाई समुदायसंग जोड्ने उदेश्यसहित विद्यालयले उक्त अभियान सुरु गरेको हो।

तुलसीपुर–९ स्थित सगरमाथा स्कुलले बालबालिकाको सर्वाङगीण विकासका लागि कम्युनिटी आउटरिच डिपार्टमेन्ट स्थापित गरी शिक्षण सिकाइमा नयाँ अभ्यासको सुरुवात गरेको हो। विद्यालयले कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी समुदायमैत्री शिक्षाको अभ्यास गरेको हो।

विद्यालयको शैक्षिक दायित्व कक्षाकोठामा पढाएर मात्र पूरा नहुने भन्दै यो अभियान सुरु गरिएको विद्यालयका प्रधानाध्यापक छविकुमार वलीले बताए। कक्षाकोठाको सिमित दायरामा विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गर्न नसक्ने भएकाले विद्यालय, परिवार र समुदायबीचको प्रभावकारी सहकार्यलाई अवलम्वन गरिएको उनले जानकारी दिए। उनले त्रिपक्षीय सम्वन्ध स्थापित गर्नुका साथै विद्यार्थीको सिकाइ उपलब्धिलाई सुदृढ बनाउन सहयोग पुगेको उनको भनाई छ।

कक्षा ८ मा अध्ययनरत ४० जना विद्यार्थीहरु घर–घरमा पुगेर विद्यालयले अध्ययन तालिका हस्तान्तरण गरेको छ ।यसले अभिभावकमा जिम्मेवारीवोध र विद्यार्थीहरुमा अनुशासनको विकास गरेको विद्यालयका सहायक प्रधानाध्यापक तथा अभियानका संयोजक केशर सिंह बुढाथोकीले बताए।

गतवर्षदेखि सुरु गरिएको यस अभियानले विद्यार्थीको घरमा पढ्ने बानीको विकास गर्नुका साथै उनीहरुको व्यक्तित्व विकासमा पनि सकारात्मक परिवर्तन देखिएको उनी बताउँछन्। ‘ कामको व्यस्तताले गर्दा अभिभावकले सन्तानलाई समय दिन नसक्दा विद्यार्थीमा अटेरिपन, जिद्दीपना, नपढने जस्ता समस्या थियो तर अहिले त्यो समस्या छैन, उनले भने-‘यो अभियानले विद्यार्थी, अभिभावक र विद्यालयविच अपनत्वको सम्वन्ध स्थापित मात्र गरेको छैन, विद्यार्थीहरुमा अनुशासनको विकास समेत गरेको छ ।’

विद्यालय टोली घरमै आएर बालबालिकाको पढाइबारे चासो देखाएपछि अभिभावकहरू निकै उत्साहित भएको अभिभावक शोभे छन्त्यालले बताए। उनले शिक्षकहरू आफैँ घरमा आएर बच्चाको पढाइ, समय तालिका र घरको वातावरणबारे चासो लिएको भन्दै खुशी व्यक्त गरे। उनले भने-‘ हामी अभिभावकलाई पनि बच्चाको पढाइप्रति अझ बढी जिम्मेवार बनाएको छ।’

घरमा अध्ययनमैत्री वातावरण बनाउन र बच्चालाई सही मार्गदर्शन दिनका लागि यस्ताखाले अभियानले अभिभावकलाई दिशा निर्देश गरेको अभिभभावक हुमा तिवारीले बताइन्। घर र विद्यालयको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै विद्यार्थीको सिकाइ स्तरलाई वृद्धि गर्ने यो अभियान अन्य विद्यालयहरूका लागि पनि प्रेरणादायी बन्न सक्ने उनीहरुले बताए। यस्ता खाले शैक्षिक क्रियाकलापले बालबालिकामा सकारात्मक सूधार ल्याएको उनीहरुको अनुभव छ।

प्रतिक्रिया दिनुहोस

data-href="