after_navbar

सकियो थारुको ‘महाकुम्भ’:मटँवा/बरघर/भलमन्सा प्रथालाई कानुनी मान्यता दिन माग


माघ २७, २०८१


दाङ,२७ माघ। दाङको चखौरामा थारूहरूको ‘महाकुम्भ’ सकिएको छ। दुई दिनसम्म चलेको यो भेलामा विभिन्न जिल्लाका हजारौं थारुहरू सहभागी भएका थिए। र उनीहरूलाई नेपाली काँग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका थिए।
थारुहरूको मौलिक संस्कृति जोगाउन र

केही प्रथाहरूलाई कानुनी मान्यता दिलाउनका लागि हालैमात्रै गठन भएको मटँवा/बरघर/भलमन्साहरूको संघमा आवद्ध भएका देशभरका थारुहरू दाङको चखौरामा जम्मा भएका थिए। त्यही भेलामै संघको अधिवेशन पनि भएको थियो। मटँवा/बरघर र भलमन्सा भनेको थारु समुदायका अगुवा हुन्।

ad

खासगरी पश्चिम तराईंमा बसोबास गर्ने थारु समुदायमा अगुवा चुन्ने प्रचलन हुन्छ र हरेक वर्षको माघ १ गते प्रजातान्त्रिक विधिबाट उनीहरू चुनिने गर्छन्। यी अगुवाहरूलाई ठाउँअनुसार मटँवा/बरघर/भलमन्सा भनेर सम्बोधन गरिन्छ।

थारु समुदायमा उनीहरूको काम भनेको समुदायको रेखदेखदेखि आफ्ना समुदायका लागि कानुनहरू बनाउने र त्यसैअनुसार समुदायलाई चलाउने हुन्छ। कतिपय अवस्थामा मटँवा/बरघर/भलमन्साहरूले नै समुदायमा आइपरेका मुद्दाहरूको छिनोफानो पनि गरिदिन्छन्।

तर लोकतन्त्रको अभ्याससँगै थारु समुदायका परम्पराहरू हराउन थालेका छन् र यी मौलिक अनि सांस्कृतिक प्रथालाई जोगाउनका लागि देशभरका थारु अगुवाहरू एकजुट भएका हुन्।

हालैमात्र औपचारिकरुपमा गठन भएको मटँवा/बरघर/भलमन्सा संघको केन्द्रीय अध्यक्ष डिल्लीबहादुर चौधरी हुन्। उनी लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री पनि हुन्।

पूर्वप्रधानमन्त्री तथा प्रमुख सत्ता साझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वगृहमन्त्री बालकृष्ण खाँण तथा प्रदेशका मन्त्रीहरूसमेतलाई राखेर यी थारु अगुवाहरूले थारु प्रथाजनित केही मौलिक संस्कारहरूलाई कानुनी मान्यता दिन अपिल गरेका थिए।

उनीहरूलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले थारुहरूको मौलिकता संरक्षणको जिम्मेवारी यही समुदायको अगुवाहरूको भएको भन्दै कानुनी तथा नीतिगतरुपमा भएका अप्ठ्याराहरू फुकाउनका लागि सरकारले पहल गर्ने बताए। त्यसका लागि केन्द्र सरकारमा केही गर्नुपर्ने भए आफूले सहजीकरण गर्ने बचन पनि उनले दिएका थिए।

‘थारुहरूका केही मौलिक र सांस्कृतिक परम्पराहरू छन्। तिनलाई जोगाउनुपर्छ। यो सरकारको नीतिभित्रै पर्छ’ देउवाले भनेका छन् ‘यो केन्द्रबाट गर्नुपर्ने भए पनि हामी त्यो गर्छौं। तपाईंहरूको संस्कृति र मौलिकता जोगाउनका लागि सरकारले पनि नीति कार्यक्रमहरू ल्याउँछ। राज्य निर्माणका लागि तपाईंहरूको भूमिका महत्वपूर्ण पनि रहन्छ।’

त्यस्तै थरु अगुवाहरूले थारुले परम्परागतरुपमा उत्पादन गर्ने मदिरा विश्वव्यापी ब्रान्डभन्दा कम नभएको भन्दै त्यसलाई बजारीकरण गर्नका लागि कानुन निर्माणका लागि आग्रह गरेका थिए।


‘थारुहरूले बनाउने रक्सी कुनै विदेशी ब्रान्डभन्दा कम छैनन्। ती मौलिक तरिकाले उत्पादन गरिएको रक्सी स्वास्थ्यका लागि पनि हानीकारक हुँदैन। तर त्यसलाई अहिले कानुनले बन्देज गरिदिएको छ।

यसबाट थारुहरूको मौलिक परम्परा लोप हुँदै गएको छ’ मटँवा/बरघर/भलमन्सा संघका केन्द्रीय अध्यक्ष डिल्लीबहादुर चौधरी भन्छन् ‘सरकारले कानुन बनाएर त्यसको ब्रान्डिङ र लेभलिङ गर्ने अनुमति दियो भने थारुलाई धनी बनाउन केही गर्नै पर्दैन।

हाम्रा उत्पादनहरू विदेशी ब्रान्डलाई सजिलै प्रतिष्पर्धा गर्नसक्छन् र त्यो हाम्रा लागि आर्थिक उपार्जनको एउटा महत्वपूर्ण माध्यम पनि बन्नसक्छ। उनका अनुसार यसअघि नै लुम्बिनी प्रदेश सरकारले स्थानीय मदिरालाई ब्रान्डिङ गर्ने नीति ल्याइसकेको छ। तर कानुनको अभावमा त्यो कार्यान्वयन हुन सकेको छैन।

‘हामीले भनिरहेका छौं हरेक दिनरात थारुहरुको घरमा खेर गइरहेको यी रक्सीहरूलाई ब्रान्डिङ गरौं र आर्थिक उपार्जनको ढोका खोलौं भनेर तर संघीय सरकारले कानुन नबनाउँदा त्यसो हुन सकिरहेको छैन’ चौधरी भन्छन् ‘हामीले त्यसबाट अर्बौं राजश्व तिर्न तयार छौं।

त्यो राजश्व प्रदेश सरकारकै आम्दानी हुन्छ। यसरी हाम्रो समयुदाय पनि आर्थिकरुपमा बलियो हुन्छ र प्रदेश सरकारको पनि आम्दानी हुन्छ। यस्तो कामका लागि कानुन आवश्यक हुन्छ। त्यो कानुन निर्माणको लागि संघीय सरकारले ढोका खोलिदिनुपर्छ।’

काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री देउवाले यस्ता मौलिक परम्परा जोगाउने नीति सरकारको भए पनि कतिपय कुरामा ऐन, कानुनहरूको आवश्यकता पर्ने भन्दै आदिवासी समुदायको हितका लागि सरकारले आवश्यक कानुन बनाउने प्रतिवद्धता व्यक्त गरे।

‘हुन त यहाँ रक्सीको कुरा उठेको छ। तर पनि कतिपय मौलिक परम्पराहरूलाई अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गर्न पनि सकिन्छ’ देउवाले भने ‘त्यो कुरा राम्रो हो र तपाईंहरूको समुदाय अनि देशलाई नै फइदा हुन्छ भने हामीले कानुन निर्माणका लागि पहल थाल्नुपर्छ।’
मटँवा/बरघर/भलमन्सा संघ अब थारु समुदायका हरेक वस्ती वस्ती र घरघरमा पुर्‍याइने पनि अध्यक्ष चौधरीले बताए।

उनले लोप हुँदै गएका थारु परम्परा र संस्कृति जोगाउनका लागि अब मटँवा/बरघर/भलमन्सा संघमार्फत देशभरका थारुहरू एकजुट भइसकेको भन्दै आफ्ना रैथाने परम्परालाई कानुनी मान्यतालाई लागि संघर्ष गर्नुपर्नेमा पनि जोड दिए। यो स्थानीय मुद्दामात्रै नभएर आदिवासी समुदायको विश्वव्यापी मुद्दा भएका कारण अब यो अन्तर्राष्ट्रियकरण भइसकेको पनि उनको भनाइ थियो।


‘यो अब एउटा कुनै थारु वा कुनै समुदायकोमात्रै मुद्दा रहेन। यो हरेक आदिवासी समुदायको मुद्दा भइसकेको छ। र यो अब स्थानीय र राष्ट्रियमात्रै होइन पूरै अन्तर्राष्ट्रिय मुद्दा बनिसकेको छ’ उनले भने ‘मटँवा/बरघर/भलमन्सा संघ पनि आदिवासीको विश्वमञ्चमा जोडिइसकेको छ। र हामीले हाम्रा मौलिक परम्परा अनि मौलिक प्रथा पुनर्जागृत गर्नका लागि अब अन्तर्राष्ट्रिय मञ्चहरूबाट पनि पहल गर्नेछौं।’

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="