इस्लामाबाद, ७ फागुन । पाकिस्तानको बलुचिस्तान प्रान्तको बरखान जिल्लामा अज्ञात बन्दुकधारीहरूले यात्रुवाहक गाडी रोकेर सात जनाको हत्या गरेका छन्।
स्थानीय अधिकारीहरूका अनुसार क्वेटाबाट लाहोरतर्फ जाँदै गरेको गाडीमा सवार यात्रुलाई बन्दुकधारीहरूले जबरजस्ती ओरालेर परिचयपत्र जाँच गरेपछि गोली हानी हत्या गरेका हुन्। रोयटर्सका अनुसार बरखानका डेपुटी कमिस्नर वकार खुर्शीदले घटनाको पुष्टि गरेका छन्। प्रारम्भिक अनुसन्धानअनुसार मारिनेहरू पाकिस्तानको पञ्जाब प्रान्तका रहेको प्रहरीले जनाएको छ।
बलुचिस्तान पाकिस्तानको पृथकतावादी विद्रोहीहरूको सक्रिय क्षेत्र हो, जहाँ सशस्त्र समूहहरूले ठूलो स्वायत्तता र प्राकृतिक स्रोतहरूको उचित बाँडफाँटको माग गर्दै आएका छन्। पछिल्ला महिनाहरूमा यस क्षेत्रमा सुरक्षा बल, चिनियाँ पूर्वाधार परियोजना तथा पञ्जाब प्रान्तका कामदारहरूलाई लक्षित गरी आक्रमणहरू बढ्दै गएका छन्।
गत अगस्ट महिनामा पनि विद्रोही समूहले राजमार्गमा गाडी रोकेर २२ जनाको हत्या गरेका थिए। पछिल्ला घटनाहरूले पाकिस्तानको सुरक्षा व्यवस्थामाथि थप चुनौती खडा गरेको सुरक्षा विश्लेषकहरूले बताएका छन्।
प्रतिक्रिया दिनुहोस