काठमाडौँ,१६ फागुन । पर्सामा ३५ सय रुपैयाँको विवादका कारण एक युवकको हत्या भएको छ । आफ्नै साथीको हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २७ का १९ वर्षीय मुकेशप्रसाद यादव, अरुणकुमार यादव र मुना तिवारी रहेका छन् । प्रहरीका अनुसार उनीहरूले आफ्नै साथी इशालप्रसाद कुर्मीलाई हत्या गरेको स्वीकार गरेका छन् ।
घटनाको विवरणअनुसार, फागुन ७ गते इशालप्रसाद कुर्मी आफ्ना छिमेकी साथीहरूसँग तास खेल्न गएका थिए । तास खेल्ने क्रममा ३५ सय रुपियाँको विषयमा विवाद भएको थियो । विवादकै क्रममा मुकेशप्रसाद यादव, अरुणकुमार यादव र मुना तिवारीले मिलेर इशालप्रसाद कुर्मीको हत्या गरी उनको शव भेडाहा खोलामा फालेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार फागुन ७ गते घरबाट काम गर्न निस्किएका इशालप्रसाद कुर्मी अबेर रातिसम्म नफर्किएपछि परिवारले फागुन ८ गते प्रहरीमा निवेदन दिएका थिए । खोजीका क्रममा फागुन ११ गते भेडाहा खोलामा कुर्मीको शव फेला परेको थियो ।
हाल प्रहरीले पक्राउ परेका तीन जनालाई ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाएको छ । घटनाका थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस