काठमाडौँ,१० जेठ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्ने गरी न्याय प्रणालीलाई सुधार गर्नुपर्नेमा जोड दिएका छन्।
केन्द्रीय बाल न्याय समितिको सचिवालयद्वारा शनिबार आयोजित ‘नेपालमा बाल न्याय प्रणालीको प्रवर्द्धनमा सरोकारवालाको भूमिकाको खोजी’ विषयक एकदिने राष्ट्रिय कार्यशाला गोष्ठीमा उनले न्यायिक प्रक्रियामा बालबालिकाको हक, हित र भलाइलाई केन्द्रमा राख्नुपर्ने बताएका हुन्।
उनले भने, “राज्यले निर्देशित गरेको विधिअनुसार काम गर्दै बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्ने गरी न्याय सम्पादन हुनु जरुरी छ। यदि कानुनमा कमजोरी छन् भने ती सुधार गर्नुपर्छ। दक्ष जनशक्तिको अभावमा बालबालिकाको हित हुन सक्दैन।”
प्रधानन्यायाधीश राउतले बाल सुधारको क्षेत्रमा ढिला भएको उल्लेख गर्दै न्याय प्रणालीलाई हस्तक्षेपकारी र सुधारमुखी बनाउने आवश्यकता औंल्याए।
“प्रहरीले सुधार गर्ने होइन, सुरक्षा दिने हो। सुधार र समाजमा पुनःस्थापनाका लागि पूर्वाधार र उत्प्रेरणात्मक वातावरण तयार गर्न आवश्यक छ। यसमा तीनै तहका सरकारको अभिभावकीय भूमिका महत्वपूर्ण छ,” उनले स्पष्ट पारे।
उनका अनुसार, बालबालिकाको न्यायमा संलग्न सबै निकायहरूले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्छ। दोषपूर्ण कानुन वा कमजोर कार्यान्वयनले बालबालिकालाई अझ जोखिममा पार्न सक्ने हुँदा सुधार अपरिहार्य भएको उनको धारणा छ। कार्यशालामा विभिन्न सरकारी तथागैरसरकारी निकाय, सरोकारवाला र बाल अधिकारकर्मीहरूको उपस्थिति रहेको थियो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस