दाङ,११जेठ। मध्यरातमा भएको कुटपिटमा परी एक युवक घाइते भएका छन् । दुइजना पेस्तोलसहित पक्राउ परेका छन्। रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११, जितवापुरमा शनिबार मध्यराति दुई समूहबीच झडप भएको हो ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार महायज्ञस्थलमा रहेका स्थानीय युवा र मोहसड गाउँबाट गएका युवाहरूबीच राति करिब १२ बजे झडप भएको हो।
घटनामा जितवापुरका विक्रम सिंह घाइते भएका छन्। उनको हातखुट्टामा चोट लागेकाले अहिले भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार जितवापुरमा जेठ २ गतेदेखि महायज्ञ सञ्चालनमा छ। महायज्ञ सुरु भएयता मोहसडका केही युवाहरू रातको समयमा आएर विवाद सिर्जना गर्दै आएकोमा शनिबार राति तीव्र कुटपिटमा परिणत भएको हो।
कुटपिटपछि इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले मोहसड गाउँका २७ वर्षीय कमरउद्दिन मुसलमान र २६ वर्षीय रोशन अली फकिरलाई पक्राउ गरेको छ।
पक्राउ परेकाहरूको साथबाट गोली नभएको एकथान कटुवा पेस्तोलसमेत बरामद गरिएको प्रहरी उपरीक्षक क्षेत्रीले जानकारी दिए। उनीहरूलाई इलाका प्रहरी कार्यालय लुम्बिनीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस