after_navbar

१० महिनामा ३ खर्बभन्दा बढी ऋण भुक्तानी, सार्वजनिक ऋण २६ खर्ब नाघ्यो


जेठ १२, २०८२


काठमाडौं, ११ जेठ । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा नेपाल सरकारले ३ खर्बभन्दा बढी सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानी गरेको छ। यद्यपि, सोही अवधिमा करिब ४ खर्ब बराबर नयाँ ऋण उठाइएको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनअनुसार चालु वर्षको सुरुवातमा सरकारको कूल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब रुपैयाँ थियो। वैशाख मसान्तसम्ममा थप १ खर्ब ८८ अर्ब ३० करोड रुपैयाँ ऋण उठाउँदै कूल सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँमा पुगेको छ। यो मुलुकको कूल गार्हस्थ्य उत्पादन (GDP) को ४२.९४ प्रतिशत हो।

कूल ऋणमध्ये वैदेशिक ऋण ५१.६९ प्रतिशत (१३ खर्ब ५५ अर्ब ६९ करोड) र आन्तरिक ऋण ४८.३१ प्रतिशत (१२ खर्ब ६६ अर्ब ७० करोड) रहेको छ।

सरकारले चालु वर्षमा कुल ५ खर्ब ४७ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य राखेको थियो। वैशाख मसान्तसम्ममा जम्मा ३ खर्ब ९० अर्ब ८३ करोड रुपैयाँ मात्र उठाउन सफल भएको छ, जुन लक्ष्यको ७१.४५ प्रतिशत हो।

आन्तरिक ऋणमा अपेक्षाकृत राम्रो प्रगति भएको देखिन्छ। तीन खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्यमध्ये हालसम्म तीन खर्ब एक अर्ब १४ करोड उठाइएको छ, जुन ९१.२५ प्रतिशत हो। बाँकी २८ अर्ब ८५ करोड रुपैयाँ उठाउन बाँकी छ।

तर, वैदेशिक ऋणमा भने उल्लेख्य प्रगति देखिएको छैन। दुई खर्ब १७ अर्ब रुपैयाँ उठाउने लक्ष्यमध्ये हालसम्म ८९ अर्ब ६८ करोड मात्र उठाइएको छ, जसले लक्ष्यको ४१.३३ प्रतिशत मात्रै प्रतिनिधित्व गर्छ।

यही अवधिमा सरकारले ३ खर्ब ८ अर्ब १४ करोड रुपैयाँ ऋणको साँवा र ब्याज भुक्तानी गरिसकेको छ, जुन वार्षिक बजेटको ७६.४९ प्रतिशत हो। यो ऋण सेवा खर्च कूल GDP को ५.०५ प्रतिशत बराबर पर्छ।

प्रतिवेदनअनुसार, वैशाख महिनामा सार्वजनिक ऋण प्राप्तिभन्दा साँवा भुक्तानी बढी भएपछि अघिल्लो महिनाको तुलनामा कुल सार्वजनिक ऋण दायित्व केही घटेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="