after_navbar

प्रदेश सांसद गुरुङलाई पदमुक्त गर्न जनमत पार्टीको माग


जेठ १५, २०८२


दाङ,१४ जेठ। लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङलाई पदमुक्त गर्न जनमत पार्टी संसदीय दलले माग गरेको छ। संसदीय दलका नेता चन्द्रकेश गुप्ताले मंगलबार सभामुख तुलाराम घर्तीलाई पत्र पठाउँदै गुरुङलाई प्रदेशसभा बैठकमा लगातार १० पटक अनुपस्थित रहेकाले पद रिक्त घोषणा गर्न अनुरोध गरेका हुन्।

गुरुङ साढे दुई महिनादेखि बिना सूचना बेलायतमा बस्दै आएकी छिन्। वैशाख ३० गते उनले हस्तलिखित राजीनामा पत्र सार्वजनिक गरेकी थिइन् तर त्यो पत्र विधिवत् रूपमा प्रदेश सभामा पेश गरिएको छैन।

प्रदेश सभा सचिवालयका अनुसार छैठौँ अधिवेशनका ११ वटा बैठकमध्ये कुनैमा पनि गुरुङ सहभागी भएकी छैनन्। नेपालको संविधानको धारा १८० को खण्ड (घ) अनुसार प्रदेशसभालाई जानकारी नदिई लगातार दशवटा बैठकमा अनुपस्थित रहेमा सदस्यको स्थान रिक्त हुने व्यवस्था छ।

यसै आधारमा प्रदेश सभा नियमावली २०७९ को नियम १९० को उपनियम १ अनुसार सभामुखले स्थान रिक्त भएको जानकारी सभामा गराउने तयारी भएको सचिवालयले जनाएको छ। यो जानकारी बुधवारको बैठकमा प्रस्तुत गरिनेछ।

गुरुङ लुम्बिनी प्रदेश सभामा सबैभन्दा कम उपस्थिति हुने सदस्य हुन्। पाचौँ अधिवेशनसम्म सम्पन्न ८३ बैठकमध्ये उनी केवल ३४ बैठकमा मात्र उपस्थित भएकी थिइन्। छैठौँ अधिवेशनका १० बैठकमा निरन्तर अनुपस्थित रहेकाले प्रदेशसभा सचिवालयले उनको पद रिक्त गर्ने प्रक्रिया अघि बढाएको हो। लुम्बिनी प्रदेश सभामा हाल ८७ जना सदस्य रहेका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="