झापा, १७ जेठ | झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलामा आएको बाढीले बस्ती डुबानमा परेको छ । मनसुन सुरू भएसँगै गए राति आएको बाढीले सुगाबथान, मिलनबस्ती, कुवाडी र सडकबस्तीलगायतका क्षेत्रमा २२ घर डुबानमा परेका हुन् ।
बाढीको जोखिम बढेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ सरेका छन् । वडाध्यक्ष हिमाल चाम्लागाईका अनुसार बाढीले ६० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैखेतीमा क्षति पुर्याएको छ ।
“माईखोलामा सामान्य बाढी आउँदा मात्रै यस्तो अवस्था भएको हो,” अध्यक्ष चाम्लागाईले बताउनुभयो, “यदि ठूलो वर्षा भयो भने वडा नं. १ र २ का झन्डै तीन हजार घरधुरी विस्थापित हुने खतरा छ ।”
यस वर्ष सामान्यभन्दा बढी वर्षा हुने मौसम पूर्वानुमान विभागको जानकारीपछि स्थानीयहरूमा बाढीको त्रास अझै बढेको छ । संभावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासन तथा सरोकारवाला निकायले सतर्कता अपनाउन आह्वान गरेका छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस