after_navbar

चिडियाखानाबाट रेड पान्डा चोरी गर्ने दुइजना पक्राउ


जेठ २१, २०८२


काठमाडौ,२० जेठ । चिडियाखानामा रहेका दुर्लभ प्रजातिका रेड पान्डा चोरी गर्न खोज्ने दुइजनालाइ प्रहरीले पक्राउ गरेको छ। जावलाखेल स्थित सदर चिडियाखानामा रहेका दुर्लभ प्रजातिका रेड पान्डा चोरीको प्रयास गर्ने समूहका दुई जना पक्राउ परेका छन् भने अन्य दुई अझै फरार रहेका छन्। चोरीको तेस्रो प्रयासमा रेड पान्डालाई झोलामा प्याक गरिसकेपछि कराएको कारण उनीहरू योजना विफल पारेर भागेका थिए।

पक्राउ पर्नेहरूमा धादिङबेशी घर भएका २१ वर्षीय कृष्ण गुरुङ र भारत, बिहार राज्यको वैशालीका २६ वर्षीय मोहम्मद तफिक रहेका छन्। तफिक स्वयम्भू क्षेत्रमा चराचुरुङ्गीको व्यापारमा संलग्न थिए। ललितपुर प्रहरी परिसरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार घटनामा संलग्न थप दुई जना भारतीय फरार छन्, तर उनीहरूको पहिचान भइसकेको छ।

तीन चरणको योजना : उनीहरूले रेड पान्डा चोर्न तीन दिनसम्म योजना बनाएर प्रयास गरेका थिए। पहिलो र दोस्रो दिन उनीहरूले टिकट काटेर चिडियाखाना छिरेर रेकी गरे। रेड पान्डा राखिएको क्षेत्र, झ्याल, ढोका, प्रवेश सम्भावना, र सीसीटीभी क्यामेराको कभरेजसम्म अध्ययन गरे। दोस्रो दिन राति चोरी गर्न खोज्दा रेड पान्डा रुख चढेपछि असफल भएर उत्तर कम्पाउन्ड हुँदै भागे।

तेस्रो दिन (३० वैशाख) दिउँसो टिकट काटेर पुनः चिडियाखाना प्रवेश गरे। क्यान्टिनमा लुकेर बसेपछि राति रेड पान्डालाई नियन्त्रणमा लिई झोलामा हालेर चोरी प्रयास गरे। तर रेड पान्डा कराउन थालेपछि उनीहरूले डरले झोला निगालो घारीमा फ्यालेर मुख्य गेटबाट भागे।

राति १० बजेतिर चिडियाखानाबाट चोरी प्रयास भएको सूचना पाएपछि प्रहरी टोली त्यहाँ पुग्यो। प्रहरीले घटनास्थलबाट एक जोर जुत्ता, पेचकस, र रेड पान्डाको भुत्लासहितको झोला बरामद गरेको छ।

प्रहरीले सीसीटीभी फुटेज विश्लेषण गरी तफिकलाई स्वयम्भूबाट पक्राउ गरेको हो। उनीहरू तेस्रो प्रयासमा रेड पान्डालाई झोलामा हालेर लगेपनि जनावरको आवाजले कर्मचारी सतर्क भएपछि उनीहरूको योजना भत्किएको हो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="