after_navbar

दाङलाई ‘पूर्णखोप’ जिल्ला घोषणा


असार १४, २०८२


दाङ, १४ असार । दाङलाई पूर्णखोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा गरिएको छ। शनिबार “आफ्नै स्रोत, सक्रिय सहभागिता र स्वामित्व, खोपको पहुँच सुनिश्चित हाम्रो वाचा” भन्ने नारासहित दाङलाई पूर्णखोप सुनिश्चितता र दिगोपनाको जिल्ला घोषणा गरिएको हो।

कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगरले दाङले खोप अभियानमा उदाहरणीय उपलब्धि हासिल गरेको बताए। उनले सबै नागरिक स्वस्थ भए मात्रै समृद्ध नेपाल बनाउने सपना पूरा हुने भन्दै प्रदेश सरकारले स्वास्थ्य सेवा सबैका घर आँगनसम्म पुर्‍याउन लागि परेको उल्लेख गरे।

मन्त्री मगरले भने, “खोप अभियानले मात्र हैन, नागरिकको दीर्घकालीन स्वास्थ्य सुरक्षामा समेत मद्दत पुर्‍याएको छ। साथै, क्यान्सर पीडितका लागि दुई लाख रुपैयाँसम्म निःशुल्क उपचारको व्यवस्था गरिएको छ।”

अहिले एक जना नागरिकले कमाइको ठूलो हिस्सा औषधि उपचारमा खर्च गर्नुपरेको प्रसंग जोड्दै उनले रोग लाग्नु अघि नै सचेत हुन सबैलाई आग्रह गरे।

खोप अभियान सफल बनाउन जुट्ने जनप्रतिनिधि, स्वास्थ्यकर्मी र स्वयंसेविकालाई मन्त्रीले हार्दिक बधाई र धन्यवाद दिए।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख किशोरकुमार आचार्यले सबैको साथ र एकताले दाङलाई यो सफलता दिलाएको बताए।

कार्यक्रम खोप समन्वय समितिका संयोजक र जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरी, घोराही उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख राधा पौडेल, पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी र महिला स्वयंसेविका बिना खनालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

दाङका सबै १० वटै स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सरोकारवालाको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

data-href="