after_navbar

झुम्का कारागारमा फेरि एक बन्दीको मृत्यु


भदौ १, २०८२


काठमाडौं,१९ भदौ । सुनसरीको झुम्का कारागारमा फेरि एक कैदीबन्दीको मृत्यु भएको छ।

ज्वरोले बिरामी भएका सप्तरी राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादवको बुधबार साँझ उपचारकै क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाका अनुसार ज्वरोका कारण जिल्ला अस्पतालमा भर्ना गरिएका यादवलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारकै क्रममा मृत्यु भएको हो।

जेल प्रशासनका अनुसार यादवलाई बुधबार साँझ ५:३० बजे जिल्ला अस्पताल पुर्‍याइएको थियो। त्यसपछि उपचारकै क्रममा उनको मृत्यु भएको जेलर राम निरौलाले जानकारी दिए। जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका यादव केही दिनदेखि बिरामी थिए।

कारागार प्रशासनका अनुसार हाल झुम्का कारागारका १३ जना सिकिस्त ज्वरोका बिरामीलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको छ। साथै, कैदीबन्दीबीच ज्वरो बढेपछि जिल्ला अस्पताल इनरुवा र वीपी कोइरालाको चिकित्सक टोलीले बुधबार मध्यरातसम्म कारागारमै स्वास्थ्य शिविर सञ्चालन गरी बिरामीको स्वास्थ्य परीक्षण र औषधि वितरण गरेको हो।

जेलर निरौलाका अनुसार बिरामीको संख्या बढ्दो भएकाले चिकित्सक टोलीलाई हाइ अलर्टमा राखेर नियमित स्वास्थ्य परीक्षण र उपचार गर्ने व्यवस्था गरिएको छ।

पछिल्लो एक सातामा मात्रै झुम्का कारागारमा तीन कैदीबन्दीको मृत्यु भइसकेको छ। यसअघि भदौ १५ गते सुनसरी गढी–६ का ५२ वर्षीय रामदेव उराँव र भदौ १६ गते धरान–१० का २४ वर्षीय सागर राईको ज्यान गएको थियो।

हाल झुम्का कारागारको ‘ए’ र ‘बी’ ब्लकमा गरेर १ हजार ७९८ जना कैदीबन्दी रहेका छन्।

प्रतिक्रिया दिनुहोस

data-href="