after_navbar

तिहारले सद्भाव, सुशासन र समृद्धिको भावना अभिवृद्धि गरोस्: राष्ट्रपति पौडेल


कार्तिक ०४, २०८२


काठमाडौं,३ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

तिहार पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी र दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।

“नेपाल मौलिक संस्कृतिले भरिपूर्ण देश हो। हामीले मनाउने विभिन्न चाडपर्वहरूले विविधतालाई एकतामा बाँध्ने कार्य गर्दै आएका छन्,” राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन्, “यस्ता पर्वहरूमध्ये तिहार हिन्दू धर्मावलम्बीहरूको महान पर्व हो, जसले विभिन्न जात, भाषा र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने प्रयास गरेको छ।”

उनले तिहार पर्वलाई सांस्कृतिक, पौराणिक, व्यावहारिक, मनोवैज्ञानिक तथा वैज्ञानिक महत्व बोकेको उज्यालो र प्रकाशको पर्वका रूपमा उल्लेख गरेका छन्।

राष्ट्रपति पौडेलले तिहारका माध्यमबाट प्रकट हुने विविध सांस्कृतिक अभ्यासहरूले मानवीय जीवनमा प्रकाश छरी सबैलाई सत्य, न्याय र सामाजिक सुशासनको बाटोमा अग्रसर रहन प्रेरित गरुन् भन्ने कामना पनि गरेका छन्।

तिहार पर्वलाई यमपञ्चक पनि भनिन्छ। यस पर्वमा काग, कुकुर, गाई, गोरु आदिको सम्मान र पूजा गरिन्छ भने लक्ष्मीपूजाका दिनमा भगवती लक्ष्मीको आराधना गरिन्छ। भाइटीकाका दिन दाजुभाइ र दिदीबहिनीबीच टीका लगाई, शुभकामना आदान–प्रदान गरी हर्षोल्लासका साथ पर्व मनाइन्छ।

भाइटीका, म्हपूजा र आत्मशुद्धिका चलनहरूले प्रेम, स्नेह, सामाजिक एकता, समृद्धि, धर्म, दया र करुणाका सन्देशहरू फैलाउँदै अन्धकारमाथि प्रकाशको विजयको भावना प्रकट गर्ने राष्ट्रपतिले सन्देशमा उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस

data-href="