after_navbar

निःशुल्क आँखा शिविरबाट ८३ जनाको दृष्टि फर्कियो


बैशाख ०६, २०८३


सल्यान, ६ वैशाख। सल्यानमा निःशुल्क आँखा शिविरमार्फत ८३ जनाको आँखाको ज्योति फर्किएको छ। जिल्लाको शारदा नगरपालिकाको श्रीनगरस्थित आँखा उपचार केन्द्रमा दुई दिनसम्म सञ्चालन भएको शिविरमा मोतिबिन्दुका बिरामीको सफल शल्यक्रिया गरिएको हो।

शारदा नगरपालिकाको आयोजना तथा नेपाल नेत्रज्योति संघको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त शिविरमा कुल ३६९ जनाको आँखाको परीक्षण गरिएको थियो। परीक्षण गरिएका मध्ये १३७ पुरुष र २३२ महिला रहेका छन्।

परीक्षणका क्रममा मोतिबिन्दु भएका ८३ जना बिरामी पहिचान गरी उनीहरूको निःशुल्क शल्यक्रिया गरिएको नगरपालिकाले जनाएको छ। शल्यक्रिया गरिएका मध्ये ४१ पुरुष र ४२ महिला रहेका छन्।

शिविर सञ्चालनअघि नै नगरपालिकाले विभिन्न वडामा छनोट शिविर सञ्चालन गरी मोतिबिन्दुका बिरामी पहिचान गरेको थियो। सोही आधारमा छनोट गरिएका बिरामीलाई मुख्य शिविरमार्फत उपचार गरिएको हो। वडास्तरबाटै गरिएको पहिचानले वास्तविक बिरामीलाई समयमै उपचारमा ल्याउन सहज भएको जनाइएको छ।

नगर उपप्रमुख सुस्मिता सापकोटाले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ आँखा सेवा सहज रूपमा उपलब्ध गराउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताइन्। उनका अनुसार समयमै रोग पहिचान र उपचारले दृष्टि जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।

नगरपालिकाले शिविरमा सहभागी बिरामीहरूको यातायात खर्चसमेत व्यहोरेको जनाएको छ। स्थानीय स्तरमै सेवा पाउँदा आफूहरूलाई सहज भएको सहभागीहरूले बताएका छन्।

तस्बीरः शंकर केसी

प्रतिक्रिया दिनुहोस

data-href="