पानीजन्य जोखिमबारे सचेतना कार्यक्रम ल्याउन सांसद गजुरेलको आग्रह
२ घण्टा अगाडि
काठमाडौ,१२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद आशिष गजुरेलले पानीजन्य जोखिमका कारण बर्सेनि ठूलो सङ्ख्यामा मानिसको ज्यान जाने गरेको भन्दै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सरकारसँग आग्रह गरेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले नेपाल प्रहरीको तथ्यांकअनुसार बर्सेनि करिब ४०० जनाको पानीमा डुबेर वा बगेर मृत्यु हुने गरेको बताए। विश्व स्वास्थ्य संगठनको अनुमान अनुसार भने यो संख्या वार्षिक १५०० सम्म पुग्ने उनको भनाइ छ।
उनले जेठको पहिलो साता सिन्धुलीको सुनकोशी नदीमा ९ र १० वर्षका बालबालिकाको डुबेर मृत्यु भएको घटना उल्लेख गर्दै यस्ता घटनामा पर्याप्त जनचेतना, सुरक्षा व्यवस्था र पूर्वसतर्कताको अभाव रहेको बताए।
सांसद गजुरेलले विद्यालय, अभिभावक र स्थानीय तहले मिलेर पानीजन्य जोखिमबारे सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।
त्यसैगरी, जोखिमयुक्त स्थानमा चेतावनी बोर्ड, बार र सुरक्षाका अन्य उपाय अपनाउनुपर्ने, पूर्वाधार निर्माण गर्दा सुरक्षालाई ध्यान दिनुपर्ने तथा बालबालिकाको सुरक्षालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
उनले पौडी र पानीजन्य सीप सिकाउने कार्यक्रम सञ्चालन गर्न पनि स्थानीय तहलाई सक्रिय हुन आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस