दाङ,१६ असार । कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। जिल्लाको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी राजमार्गमा बस दुर्घटना भएको हो।
धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालित बस अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएपछि पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा बस चालक कैलालीको धनगढी उपमहानगरपालिका–१३ गेटाका ४२ वर्षीय हरीसिंह महरासहित २२ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये अधिकांशको टाउको, हात, खुट्टा, छाती, कम्मर लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ।
घाइते सबैलाई प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल तौलिहवामा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनाका बेला बसमा चालकसहित ४६ जना सवार रहेका थिए। घाइते नभएका २४ यात्रुलाई अर्को सवारीमार्फत गन्तव्यतर्फ पठाइएको छ।
दुर्घटनापछि क्रेनको सहायताले बस हटाइएपछि हुलाकी राजमार्गमा दुवैतर्फ सवारी आवागमन पुनः सञ्चालनमा आएको छ। बस चालक प्रहरी नियन्त्रणमा रहेका छन् भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस