काठमाडौँ, १९ असार । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ।
हाल देशभर साधारणतया बादल लागेको छ भने बागमती, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। हिजो काठमाडौँमा भएको वर्षाले डुबान हुँदा जनजीवन प्रभावित भएको थियो।
पछिल्लो १२ घण्टामा पहाडी भू-भागका धेरै स्थानमा पानी परेको छ। जल तथा मौसम विज्ञान विभागको रेकर्ड अनुसार सबैभन्दा बढी पानी सिन्धुपाल्चोक जिल्लामा ९८ मिलिमिटर परेको छ। अहिले पनि कर्णाली प्रदेशका केही जिल्लाहरूमा हल्का पानी परिरहेको छ भने कर्णालीका साथै सुदूरपश्चिम प्रदेशमा समेत मध्यम सम्मको पानी पर्न शुरू भएको विभागले जनाएको छ।
देशभर दिनभर साधारणतया बादल लाग्ने छ। देशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना छ। साथै, तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै राति समेत साधारणतया बादल रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। साथै, पहाडी र तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने छ।
प्रतिक्रिया दिनुहोस