दाङ,३० असार । उखु किसानलाई करिब २२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी नगरी आपराधिक लाभ लिएको आरोपमा अन्नपूर्ण सुगर मिल प्रालिका दुई सञ्चालक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-२ बस्ने शैलेन्द्र गुप्ता र सर्लाहीको हरिपुर नगरपालिका-१ घर भई हाल पश्चिम नवलपरासी बस्दै आएका विनोद साह कलवार रहेका छन्।
प्रहरीका अनुसार उखु किसानको लामो समयदेखि बाँकी रहेको रकम भुक्तानी नगरी आर्थिक लाभ लिएको आरोपमा दर्ता भएको मुद्दामा उनीहरू फरार थिए। सोही आधारमा खोजी गरी दुवै जनालाई पक्राउ गरिएको हो।
उनीहरूविरुद्ध आपराधिक लाभ (क्रिमिनल बेनिफिट) सम्बन्धी कसुरमा अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस