after_navbar

नापी कार्यालयका सर्भेक्षकविरुद्ध ३ करोड ७१ लाखको भ्रष्टाचार मुद्दा


७ मिनेट अगाडि


काठमाडौ,९ भदौ। पदको मर्यादाविपरीत कार्य गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा नापी कार्यालयका एक सर्भेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० मा सर्भेक्षक पदमा कार्यरत विन्देश्वर साह सुडी विरुद्ध मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

आयोगले साहविरुद्ध ३ करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको जनाएको छ। अख्तियारका अनुसार २०४६ माघ १६ गतेदेखि २०८१ जेठ ३२ गतेसम्मको जाँच अवधिमा साहले विभिन्न स्रोतबाट ६ करोड ३ लाख ८५ हजार ३० रुपैयाँ वैधानिक आय आर्जन गरेको देखिएको छ। तर, सोही अवधिमा जग्गा तथा सेयर खरिद, सवारीसाधन खरिद, ऋणसापटी भुक्तानीलगायत विभिन्न शीर्षकमा ९ करोड ७५ लाख ६९ हजार ५८१ रुपैयाँ खर्च तथा लगानी गरेको पाइएको आयोगको दाबी छ।

वैधानिक आयभन्दा ३ करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँ बढी खर्च तथा लगानी गरेको देखिए पनि उक्त रकम बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको अख्तियारले जनाएको छ।

आयोगका अनुसार साहले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिमध्ये केही आफ्नी श्रीमती सुमिन्त्रा देवी साहको नाममा समेत राखेको पाइएको छ। गैरकानुनी रूपमा श्रीमतीको नाममा खरिद तथा लगानी गरिएको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनलाई समेत प्रतिवादी कायम गरिएको अख्तियारले जनाएको छ।

साहविरुद्ध बिगोबमोजिम कैद तथा जरिवाना, गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्नुका साथै झुट्टा सम्पत्ति विवरण पेस गरेको कसुरमा थप सजायको मागदाबी गरिएको आरोपपत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

data-href="