after_navbar

रसुवाको टिमुरेमा भीषण बाढी: ९ सशस्त्र प्रहरी सम्पर्कविहीन


मिनेट अगाडि


काठमाडौ,१० भदौ । रसुवाको टिमुरे क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीपछि सञ्चार सम्पर्क कठिन बनेको छ। बाढीले टिमुरे बजारमा ठूलो क्षति पुर्‍याउनुका साथै सुरक्षाकर्मीका कार्यालयसमेत प्रभावित भएका छन्।

केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याप्रुबेसी र प्रहरी चौकी रसुवागढीमा क्षति पुगेको प्रारम्भिक जानकारी आएको छ। सञ्चार सम्पर्क प्रभावित भएकाले क्षतिको यकिन विवरण भने प्राप्त हुन नसकेको उनले बताए।

बाढीपछि टिमुरेमा खटिएका सशस्त्र प्रहरीका नौ जना कर्मचारीसमेत सम्पर्कविहीन भएका छन्। सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले उनीहरू अहिलेसम्म सम्पर्कमा नआएको पुष्टि गर्दै सुरक्षित स्थानमा गएको हुनसक्ने बताए। उनीहरूको खोजी भइरहेको छ।

बाढीबाट प्रभावित क्षेत्रमा उद्धारका लागि गृह तथा पर्यटन मन्त्रालयले दुईवटा हेलिकप्टर पठाउने तयारी गरेको छ। अल्टिच्युड एयरको हेलिकप्टरबाट डोरीको सहायताले स्थानीयको उद्धार गर्ने तयारी गरिएको बताइएको छ।

प्रहरीका अनुसार अहिले उद्धार कार्यलाई प्राथमिकता दिइएको छ। बाढीबाट टिमुरे बजारमा व्यापक क्षति पुगेको प्रारम्भिक विवरण आए पनि मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन हुन बाँकी छ।

प्रतिक्रिया दिनुहोस

data-href="