दाङ,१० भदौ। रसुवामा आएको बाढीका कारण नारायणी नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
मुख्यमन्त्री आचार्यले विशेषगरी नवलपरासी पश्चिमको सुस्तासहित नारायणी नदी आसपासका जोखिमयुक्त बस्तीमा रहेका नागरिकलाई सचेत रहन अपिल गरेका हुन्। उनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासन र सुरक्षा निकायलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
मुख्यमन्त्रीले प्रदेशका तीनवटै सुरक्षा निकाय तथा सम्बन्धित प्रमुख जिल्ला अधिकारीसँग नियमित सम्पर्कमा रही बाढीको अवस्थाबारे जानकारी लिइरहेको जनाइएको छ। जोखिम बढेमा तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक तयारी गर्नसमेत निर्देशन दिइएको छ।
यसैगरी, मौसम तथा नदीको बहावका कारण रोल्पाका केही क्षेत्रमा समेत प्रभाव पर्न सक्ने भएकाले त्यहाँका नदी तथा खोलानजिकका जोखिमयुक्त बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
मुख्यमन्त्री आचार्यले नदी तथा खोलामा पानीको बहाव बढेको अवस्थामा अनावश्यक रूपमा किनारमा नजान, सुरक्षित स्थानमा बस्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न नागरिकलाई आग्रह गरेका छन्।
प्रदेश सरकार सम्भावित विपद्को जोखिम न्यूनीकरण, उद्धार तथा राहतका लागि आवश्यक समन्वय र तयारीमा रहेको मुख्यमन्त्री आचार्यले बताएका छन्।
प्रतिक्रिया दिनुहोस