काठमाडौ,१० भदौ । रसुवामा बुधबार बिहान आएको बाढीले विभिन्न जलविद्युत् आयोजना तथा सञ्चार पूर्वाधारमा क्षति पुर्याएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे, त्रिशूली-३ ए, त्रिशूली-३ बी हब, २३० केभी सबस्टेसन, त्रिशूली तथा देवघाट जलविद्युत् केन्द्र प्रभावित भएका छन्। आयोजनामा क्षति पुगेपछि सम्बन्धित क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ।
बाढीले जलविद्युत् आयोजनासँगै घर, सडक, पुललगायतका भौतिक संरचनामा समेत क्षति पुर्याएको छ।
यस्तै, बाढीका कारण नेपाल टेलिकमका सञ्चार पूर्वाधारमा समेत क्षति पुगेको छ। टेलिकमका अनुसार प्रारम्भिक विवरणमा रसुवा र नुवाकोटका गरी सातवटा टावर तथा अप्टिकल फाइबरमा क्षति पुगेको छ। जसमध्ये रसुवामा दुई र नुवाकोटमा पाँचवटा टेलिकम टावरमा भौतिक क्षति भएको छ।
सञ्चार तथा विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा टेलिफोन, इन्टरनेट र विद्युत् सेवा प्रभावित भएको छ। क्षतिको थप विवरण संकलन भइरहेको सम्बन्धित निकायले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस