after_navbar

वायु प्रदूषण नियन्त्रणमा कडाइ गर्छौँ : मुख्यमन्त्री आचार्य


२ घण्टा अगाडि


दाङ,१० भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वायु प्रदूषण नियन्त्रणका लागि उद्योग, सवारीसाधन तथा विकास निर्माण क्षेत्रमा तोकिएका मापदण्ड कडाइका साथ लागू गरिने बताएका छन्।

बुधबार लमहीमा आयोजित ‘वायु गुणस्तर तथा प्रदूषण नियन्त्रण प्रदेशस्तरीय परामर्श कार्यशाला-२०८३’ मा बोल्दै मुख्यमन्त्री आचार्यले वायु प्रदूषण नियन्त्रण सरकारको साझा जिम्मेवारी भएकाले तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताए।

उनले उद्योगबाट निस्कने धुवाँ तथा प्रदूषकको नियमित अनुगमन गरिने र मापदण्ड पालना नगर्ने उद्योगमाथि नियमन प्रभावकारी बनाइने बताए। यस्तै, इन्धनबाट चल्ने सवारीसाधनको नियमित जाँच तथा प्रदूषण परीक्षणमा समेत कडाइ गरिने उनको भनाइ छ।

तराई क्षेत्रमा गहुँको नल तथा कृषि अवशेष जलाउने क्रम बढेको भन्दै मुख्यमन्त्री आचार्यले यसको नियन्त्रणका लागि जनचेतना अभिवृद्धि र स्थानीय तहबाट प्रभावकारी पहल आवश्यक रहेको बताए।

विकास निर्माणका क्रममा धुलो नियन्त्रण, निर्माण सामग्रीको उचित व्यवस्थापनलगायत वातावरणीय मापदण्ड अनिवार्य पालना गर्नुपर्नेमा उनले जोड दिए। वृक्षरोपण, हरियाली प्रवद्र्धन तथा धुवाँरहित चुल्होको प्रयोग विस्तारलाई समेत प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

कार्यक्रममा वन, वातावरण तथा पर्यटनमन्त्री तुलसीप्रसाद चौधरीले देउखुरी उपत्यकामा वायु प्रदूषणको चाप उच्च रहेको भन्दै उद्योग तथा विकास निर्माणमा वातावरणीय मापदण्डको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए।

वन, वातावरण तथा पर्यटन मन्त्रालयका सचिव प्रमोद भट्टराईले वायु प्रदूषण नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहले संयुक्त अभियान सञ्चालन गर्नुपर्ने बताए।

कार्यशालामा वायु प्रदूषणका प्रमुख स्रोत, नियन्त्रणका उपाय, वायु गुणस्तर व्यवस्थापन तथा तीनै तहका सरकारको भूमिकाबारे छलफल गरिएको थियो। साथै वायु प्रदूषण मापन तथा निगरानीमा प्रयोग भइरहेका प्रविधिबारे समेत जानकारी गराइएको थियो।

प्रतिक्रिया दिनुहोस

data-href="