after_navbar

सल्यानमा स्क्रबटाइफसको संक्रमणः एकै दिन ६० जनामा पुष्टि


० मिनेट अगाडि


सल्यान । सल्यानमा स्क्रबटाइफसको संक्रमण तिव्र बनेको छ । जिल्लाको दार्मा गाउँपालिकामा स्क्रबटाइफस संक्रमण तीव्र बनेपछि परीक्षण तथा उपचारका लागि चिकित्सकको टोली परिचालन गरिएको छ। सोमबार एकै दिन १९१ जनाको परीक्षण गर्दा ६० जनामा संक्रमण पुष्टि भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। साउनयता स्क्रबटाइफस संक्रमणका कारण छ जनाको मृत्यु भइसकेको छ।

संक्रमण बढेपछि जिल्ला अस्पताल सल्यानका डा. बालाराम केसीको नेतृत्वमा आवश्यक औषधि तथा परीक्षण सामग्रीसहितको चिकित्सक टोली दार्मा पुगेको छ। जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख डा.प्रतिभा विकका अनुसार टोलीले दार्माका दुई स्थानमा स्क्रबटाइफस परीक्षण गर्नेछ। परीक्षणसँगै बिरामीको स्वास्थ्य अवस्था हेरेर आवश्यक उपचार तथा परामर्शसमेत दिइनेछ।

जनस्वास्थ्य अधिकृत तारा रिजालका अनुसार चिकित्सक टोलीले परीक्षणका साथै स्क्रबटाइफसबाट बच्न अपनाउनुपर्ने सावधानीबारे स्थानीयवासीलाई जानकारी गराउनेछ। वर्षायाममा घाँसपात तथा झाडीमा काम गर्दा सावधानी अपनाउने, ज्वरो आएमा तत्काल स्वास्थ्य संस्थामा परीक्षण गराउने र स्वास्थ्यकर्मीको सल्लाहबिना औषधि सेवन नगर्नेलगायत विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।

संक्रमण बढेपछि दार्मा गाउँपालिकाले चार स्थानबाट परीक्षण सुरु गरेको छ। स्वास्थ्य शाखाका अनुसार पालिकाका अधिकांश बस्तीमा ज्वरोका बिरामी बढेका छन्। परीक्षण गरिएका बिरामीमध्ये दैनिक दुईदेखि पाँच जनासम्ममा संक्रमण पुष्टि हुँदै आएको छ। हालसम्म एक सयभन्दा बढीमा स्क्रबटाइफस पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ।

जनस्वास्थ्य निरीक्षक यज्ञबहादुर बस्नेतका अनुसार साउनको दोस्रो सातादेखि गाउँपालिकामा स्क्रबटाइफस देखिन थालेको हो। भदौ १ गते पहिलो संक्रमितको मृत्यु भएको थियो।

पछिल्लोपटक दार्मा–१ का ६९ वर्षीय तोताराम सुनार र ६१ वर्षीय नरेन्द्र रोकायको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। स्वास्थ्य शाखाका अनुसार दुवै जना दीर्घरोगी थिए।

यसअघि दार्मा–५, लयटा ढाँकाडामका ६९ वर्षीय तुलबहादुर खड्गा, वडा नं। ६ मलिवाङका ८२ वर्षीय बलबहादुर थापा र नरबहादुर बुढाथोकी तथा वडा नं। २ सिलिङ्गेका १२ वर्षीय नरेश ओलीको मृत्यु भएको थियो। मृतकमध्ये वडा नं। १ का मात्रै तीन जना छन्। वडा नं। ३ मा भने हालसम्म स्क्रबटाइफसका कारण कसैको मृत्यु नभएको स्वास्थ्य शाखाले जनाएको छ।

‘८ भदौमै संक्रमणबारे जानकारी गराएका थियौँ। तर, परीक्षण किटको अभाव हुँदा समस्या भयो,’ बस्नेतले भने, ‘अहिले चार ठाउँबाट परीक्षण भइरहेको छ।’

संक्रमण बढ्दै गए पनि स्वास्थ्य संस्थामा परीक्षण किटको अभाव देखिएको छ। किट अभाव भएपछि कतिपय बिरामी परीक्षण तथा उपचारका लागि रुकुमको झुल्नेटा, फारुला तथा सल्यानका अन्य बजारसम्म पुग्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन्। स्वास्थ्य सेवा कार्यालय सल्यानको सहकार्यमा भदौ दोस्रो साता स्वास्थ्य शिविर सञ्चालन गरी ज्वरोका बिरामीको परीक्षण तथा उपचारसमेत गरिएको थियो।

किटको मौज्दात घट्दै गएको र संक्रमणमा कमी नआएकाले थप किट तथा आवश्यक सहयोगका लागि प्रदेश र संघीय सरकारसँग आग्रह गरिएको बस्नेतले बताए।

दार्मा–१ स्थित भल्चौर स्वास्थ्य संस्थामा पनि बिरामीको चाप बढेको छ। सामान्य अवस्थामा दैनिक १५ देखि २० जना बिरामी आउने गरेकामा अहिले ३० जनासम्म पुग्ने गरेको स्वास्थ्यकर्मी टेकराज बोहराले बताए। ज्वरोको औषधि सेवन गर्दा पनि निको नभएका बिरामीको स्क्रबटाइफस परीक्षण गर्ने गरिएको उनले जानकारी दिए।

स्वास्थ्य शाखाका अनुसार ज्वरो आएपछि स्वास्थ्य संस्थामा परीक्षण नगराई निजी मेडिकलबाट औषधि सेवन गर्ने प्रवृत्तिले समस्या थपिएको छ। रोगको पहिचान नगरी लक्षणका आधारमा कडा औषधि सेवन गर्ने प्रवृत्तिका कारण विशेषगरी दीर्घरोगी बढी जोखिममा परेको स्वास्थ्यकर्मीको भनाइ छ।

‘रोग पहिचान नगरी कडा औषधि सेवन गर्ने प्रवृत्ति छ। मेडिकल सञ्चालकलाई समेत परीक्षण गरेर मात्र औषधि दिन सचेत गराउँदै आएका छौँ,’ बस्नेतले भने।

दार्मा–१ का कृष्ण खड्गाका अनुसार भौगोलिक विकटताका कारण स्वास्थ्य संस्थामा सहज पहुँच नहुँदा उपचारका लागि रुकुमको झुल्नेटा बजारसम्म जानुपर्ने बाध्यता छ।

स्वास्थ्य शाखाका अनुसार गत वर्ष पनि दार्मामा स्क्रबटाइफसका कारण चार जनाको मृत्यु भएको थियो। स्वास्थ्य सेवा कार्यालय सल्यानको सहयोगमा घरघरमै पुगेर परीक्षण तथा उपचार गरेपछि संक्रमण नियन्त्रणमा ल्याइएको थियो।

यसैबीच, दार्मालगायत जिल्लाका विभिन्न स्थानमा स्क्रबटाइफस संक्रमण देखिएको जानकारी आएपछि जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सेवा कार्यालयसँग समन्वय गरी संक्रमणको अवस्थाबारे छलफल गर्ने तयारी गरेको छ। संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारलगायत सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी बन्दनाकुमारी केसीले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस

data-href="