काठमाडौं, २५ माघ । देशका विभिन्न ५ जिल्लामा ‘अफ्रिकन स्वाइन फिभर’ देखिएको छ। विभिन्न जिल्लामा सुँगुर, बङ्गुर तथा बँदेल प्रजातिलाई लाग्ने रोग ‘अफ्रिकन स्वाइन फिभर’ देखिएको हो ।
नेपालमा यो रोग पहिलो पटक २०७९ जेठ २ मा पुष्टि भएपछि दुई वर्ष अवधिमा देशका २८ जिल्लाका विभिन्न स्थानमा संक्रमण देखापरेको थियो । यो संक्रमणबाट ७० हजार बङ्गुर र सुँगुर मरेको विभागले जनाएको छ ।
पशु सेवा विभागले रोग ‘सर्भिलेन्स’ गर्दा फेरि काठमाडौं, ललितपुर, तनहुँ, लमजुङ र कास्कीमा पुष्टि भएको जनाएको छ । संक्रमण देखा परेका जिल्लामध्ये तनहुँमा किसानले पालेका बङ्गुर र सुँगुर मरेको पाइएको विभागले जनाएको छ ।
‘जैविक सुरक्षाको विधि अवलम्बन, सीमा तथा आन्तरिक क्वारेन्टाइनबाट ओसारपसारमा निगरानी, सर्भिलेन्स, सचेतनाका कार्यक्रमहरू सञ्चालन भइरहेको थियो,’ विभागले भनेको छ, ‘सोहि क्रममा रोग पुष्टि भएको हो ।’
विभागले अहिले गण्डकी प्रदेशका जिल्लामा देखिएको जनाए पनि बागमती प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अनुसार ललितपुर गोदावरी नगरपालिका, काठमाडौं कीर्तिपुर नगरपालिकामा समेत महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभर देखापरेको पुष्टि भएको बताएको हो । निर्देशनालयले स्थानीय तहलाई पत्र लेख्दै सचेतनाको काम गर्नसमेत भनेको छ ।
सोहीअनुसार ललितपुर महानगरपालिकाले अफ्रिकन स्वाइन फिभर देखिएको भन्दै महानगरभरिका किसानलाई सचेत गराउन सुरु गरिसकेको छ ।
पशु सेवा विभाग सूचना अधिकारी डा। चन्द्र ढकालले पशुमा छिटो सर्ने रोग भएको बताए ।
‘एकदम नै छिटो पशुमा सर्ने रोग हो । यसले किसानलाई ठूलो आर्थिक क्षति गर्छ, तर बेलैमा सचेत हुन सके पशुलाई बचाउन पनि सकिन्छ,’ ढकालले भने ।
उनले सर्भिलेन्स क्रममा रोग देखिने बित्तिकै सचेतनाका लागि विभाग मार्फत सबै प्रदेश र स्थानीय तहलाई जानकारी दिन सूचना प्रकाशित गरेको बताए ।
‘हामीले सर्भिलेन्स क्रममा देखिएको जति मात्रै पुष्टि गरेका हौं । सबै स्थानको तथ्यांक लिन सकिएको छैन,’ उनले भने, ‘प्रदेश र स्थानीय तहले सूचनालाई आधार मानेर रोकथामका लागि तत्काल काम गर्नुपर्ने हुन्छ ।’
ढकालले सचेत भए पशुहरूमा ठूलो क्षति नहुने भन्दै किसानलाई नआत्तिन आग्रह गरे ।
मानिसलाई सर्दैन, पशुमा छिटो असर
पशु सेवा विभागका अनुसार अफ्रिकन स्वाइन फिभर रोग सुँगुर, बङ्गुर तथा बँदेल प्रजातिमा विषाणुका कारण लाग्ने उच्च मृत्युदर भएको छिटो फैलिने सरुवा रोग हो । यो रोग पशुबाट मानिसमा सर्दैन ।
यो रोगको सङ्क्रमण हुँदा उच्च ज्वरो आउने ९१०४ देखि १०७ डिग्री फरेनहाइट०, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छेर्ने, छट्पटाउने, लडखडाउने, तुहिनेजस्ता लक्षण सहित सुँगुर, बङ्गुर तथा बँदेल मर्ने गर्छ ।
यो रोग विशेष गरी रोगी बङ्गुर वा त्यसका पाठापाठी वा मासु वा रोगी पशुको सम्पर्कमा आएका सामग्रीको लसपस वा ओसारपसारबाट फैलिन सक्छ ।
यो रोगको हालसम्म कुनै प्रभावकारी उपचार उपलब्ध छैन । विश्व पशु स्वास्थ्य संगठनले यो रोग नियन्त्रण गर्न सङ्क्रमित क्षेत्रबाट ओसारपसार नियन्त्रण सहित जैविक सुरक्षामा विशेष ध्यान पुर्याउन सिफारिस गरेको छ ।
मुलुकमा यो रोगको सङ्क्रमण देखापरेको सन्दर्भमा देशको कुनै पनि स्थानमा ठूलो संख्यामा बङ्गुर मरे वा माथिका लक्षण देखापरे तत्काल संघ, प्रदेश र स्थानीय तहमा रहेका पशु सेवासँग सम्बन्धित निकायमा खबर गर्न विभागले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस