रुकुमपश्चिम, ३१ जेठ । रुकुम पश्चिम जिल्लामा कलात्मक सिसमहल मन्दिर निर्माण गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ४ सोलाबाङमा १ करोड बढीको लागतमा कलात्मक सिसमहल मन्दिर निर्माण गरिएको हो ।
शिवधाम क्षेत्र संरक्षण तथा सिसमहल मन्दिर निर्माण समितिले कलात्मक आकृतिहरु सहितको मन्दिर निर्माण गरेको छ । उक्त मन्दिर सिसै सिसाले बनाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जनार्दन शर्माले जानकारी दिए।
एक रोपनी क्षेत्रफलमा बनेको उक्त मन्दिरमा सिसाका टुक्राहरु टाँसेर विभिन्न किसिमका आृकतिहरु बनाइएको छ । निर्माण निर्माणका लागि आवश्यक जग्गा आफु र स्थानीय विमल शर्माले उपलव्ध गराएको उनले बताए । उनका अनुसार मन्दिर परिसरमा विवाह मण्डपका साथै अन्य संरचनाहरू समेत बनाइएको छ । राप्ती राजमार्गबाट मन्दिर गेटसम्म पुग्नलाई सडक पक्की बनाइएको छ ।
मन्दिरको भित्रिभागमा चार फिटमाथि ऐनाहरू राखिएको छ भने सिलिङ्गमा समेत सिसाका बुट्टाहरू राखिएको छ । स्थानीय मिस्त्रीहरूले मन्दिर भवन निर्माण गरेका हुन् भने बुट्टा र सिसाका कलात्मक आकृति निर्माणका लागि नेपालगन्ज र भारतको दिल्लीबाट मिस्त्रीहरू आएर काम गरेका हुन् ।
शिवधाम क्षेत्र संरक्षण तथा सिसमहल मन्दिर निर्माण समितिका सचिव विमल शर्माले मन्दिर निर्माणका लागि हालसम्म एक करोड पाँच लाख ४९ हजार रुपियाँ खर्च भएको जानकारी दिए । मन्दिरमा हालसम्म कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमार्फत डिभिजन वन कार्यालयको ७५ लाख, मुसीकोट नगरपालिकाको २८ लाख, वैदेशिक रोजगारीमा रहेका स्थानीयको एक लाख सात हजार र स्थानीयले देउसीभैलो खेलेर सङ्कलन गरेको एक लाख ४२ हजार रुपियाँ लगानी भएको छ ।
तीन वर्ष पहिला निर्माण सुरु गरिएको यो मन्दिरमा शिवको मूर्ति प्रतिस्थापना गर्न भने बाँकी रहेको छ । मूर्ति आइसकेको र शुभसाईत पारेर स्थापना गरिने तयारी रहेको सचिव शर्माले बताए।
डिभिजन वन कार्यालय रुकुमपश्चिमका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारले पर्यावरण विकास र धार्मिक आस्थाको सम्मानको मन्दिर निर्माण गरिएको जानकारी दिए। उनका अनुसार यो मन्दिर कर्णाली प्रदेशको पहिलो र नेपालकै तेस्रो सिसमहल मन्दिरको रूपमा लिइन्छ । यसअघि नवलपरासीको सुस्तामा गजेन्द्र मोक्षधाम र सिन्धुलीको काभ्रेस्थलीमा सिसाको मन्दिर निर्माण गरिएको छ ।
तस्विरः राजु लामिछाने
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस