कपिलवस्तु,१३ असार। कपिलवस्तु नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता (तेली) विरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सर्वेक्षक गुप्ताविरुद्ध आयोगले आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। जग्गा कित्ताकाट गरी बिक्री तथा अंशबण्डा गर्ने प्रयोजनार्थ घुस लिएको पुष्टि हुन आएपछि मुद्धा दायर गरिएको घिमिरेले बताए।
गुप्ताविरुद्ध ३५ हजार रुपैयाँ बिगो दावी माग गरिएको छ।आयोगको बुटवलबाट खटिएको टोलीले गु्प्तालाई सेवाग्राहीसँग ३५ हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
सेवाग्राहीसँग ३५ हजार घुस रिसवत माग गरी लिएको देखिएबाट गुप्ता भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा उनलाई बिगो ३५ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय –ख) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिई आज विशेष अदालत,काठमाडौंमा आरोप(पत्र दायर गरिएको अख्तियारले जनाएको छ।
प्रतिक्रिया दिनुहोस