दाङ,२४ असार । दाङको तुलसीपुरमा बाघको आक्रमणमा परी तीन जना घाइते भएका छन्।
सोमबार बिहान साढे ६ बजेतिर तुलसीपुर – ९ स्थित नव दुर्गा सामुदायिक वनमा च्याउ खोज्न गएका तीन महिला घाइते भएका हुन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घाइतेहरूमा तुलसीपुर उपमहानगरपालिका– ९ बेलुवाका ४५ वर्षीया कमला केसी, ५२ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी छन्।
केसीको दुवै हात, सीताको ढाड र पेट तथा सरिताको दायाँ हातमा चोट लागेको छ।
उनीहरु तीनै जनाको तुलसीपुरस्थित राप्ति प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। तीनै जनाको स्वास्थ्य सामान्य छ।
घाइतेहरूले च्याउ खोज्ने क्रममा आफूहरूमाथि बाघले आक्रमण गरेको बताएका छन्।
आक्रमण गर्ने बाघ नै हो कि चितुवा हो भन्नेबारेमा थप सोधखोज र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस