दाङ,७ साउन। दाङको तुलसीपुरमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी र समावेशी कार्यस्थलका बारेमा अभिमुखीकरण कार्यक्रम गरिएको छ।
सोमबार युएसएआइडीको आर्थिक सहयोग सीबीएम र डेक नेपालको सहकार्यमा उक्त अभिमुखीकरण कार्यक्रम गरिएको हो।
तुलसीपुर उपमहानगरपालिका वडा वडा नम्बर १७ का वडाध्यक्ष थलराज पुरीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले अपाङ्ग मैत्री संरचना निर्माणका लागि प्रतिबद्धता व्यक्त गरेका छन्।
उनीहरुले अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार प्राप्तिका लागि आआफ्नो क्षेत्रबाट सहयोग र पैरवी गर्ने प्रतिबद्धता जनाएका हुन्।
हरेक निकायका संरचनाहरू अपाङ्ग मैत्री बन्नुपर्ने संवैधानिक व्यवस्था भएपनि त्यसको पूर्णरुपमा कार्यान्वयन हुन नसकेको उनीहरूको भनाइ छ।
अपाङ्ग मैत्री संरचना नहुँदा अपाङ्गता भएका व्यक्तिहरू आफ्नो हक अधिकार प्राप्तिबाट वञ्चित रहेको भन्दै यसप्रति सरोकारवाला हरू संवेदनशील बन्नुपर्ने उनीहरूको भनाइ थियो।
अपाङ्गताका सवालहरूमा नीतिगत सुधार र मैत्रीपूर्ण संरचना निर्माणमा सबैले आआफ्नो क्षेत्रबाट जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्ने उनीहरुले बताएका छन् ।
कार्यक्रममा जनप्रतिनिधिहरूको तर्फबाट तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष प्रेमनाथ योगी ,वडा नम्बर १७ का वडाध्यक्ष थलराज पुरी, वडा नम्बर १५ का वडा अध्यक्ष लक्ष्मण चौधरी, वडा नम्बर १० का वडा सदस्य ज्ञानबहादुर खडका , वडा नं ८ का वडा सदस्य हस्तबहादुर बिक लगायतले अब बन्ने वडा कार्यालयका संरचनाहरू अपाङ्ग मैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
अपाङ्गता भएका व्यक्तिहरूको जीविकोपार्जनलाई ध्यानमा राखेर वडा मार्फत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको र त्यस्ता खाले कार्यक्रमहरूलाई निरन्तरता दिइरहने उनीहरूको भनाइ थियो।
सीपमूलक र आयआर्जनमूलक क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूलाई समावेश गराउने गरी बजेट विनियोजन समेत गरिएको उनीहरुले जानकारी दिए।
कार्यक्रममा रोजगारदाताहरूको तर्फबाट होटल मानसरोवरका सञ्चालक दिन बहादुर जिसी, रञ्जना सिलाई तथा कडाई प्रशिक्षक रञ्जना आचार्य, शुभारम्भ साना किसान कृषि सहकारी संस्थाकी प्रबन्धक अमृता शर्मा लगायतले कार्यस्थलमा अपाङ्ग मैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गरौँ अपहेलना नगरौँ भन्ने मनोभावना सहित अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारीको अवसर सिर्जना गर्ने उनीहरूको प्रतिबद्धता रहेको छ।
सहकारी सङ्घसंस्थाहरूले प्रदान लगानीमा अपाङ्गता भएका व्यक्तिहरूलाई अन्यको तुलनामा विशेष छुट र बचतमा ब्याजदर बढी दिने उनीहरूको प्रतिबद्धता रहेको छ।
कार्यक्रममा पत्रकारहरू उमा भण्डारी, एकराज भण्डारी र जिसागर जीएमले अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार प्राप्तिका लागि मिडियाले समाचार तथा सूचनाको माध्यमबाट पैरवी गर्ने बताएका छन्।
सञ्चारगृहमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहभागी बनाउने , अपाङ्गता भएका व्यक्तिहरूका सवालमा खोजमूलक समाचार सम्प्रेषण गर्ने र सञ्चारमाध्यममा अपाङ्ग मैत्री वातावरणको निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा डेक नेपालका प्रबन्धक जीवन गिरीले अपाङ्गता भएका व्यक्तिहरूको अवस्था, अपाङ्ग मैत्री संरचनाको अवस्था, अपाङ्गता भएका व्यक्तिहरूका लागि नेपालको संविधानले व्यवस्था गरेका संवैधानिक कानुन, सार्वजनिक सेवामा हुने सहुलियतता अपाङ्गता भएका व्यक्तिहरूको प्रकार र अपाङ्गता भएका व्यक्तिहरूको जीविकोपार्जनमा भएका प्रयास र चुनौतीहरूका बारेमा जानकारी गराएका थिए।
कार्यक्रमको सहजीकरण युएसएआइडी सक्षम परियोजनाका वरिष्ठ आर्थिक सहजकर्ता देवा डाँगीले गरेकी थिइन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस