कैलाली,२७ साउन। मृत्यु कर्ममा भेला भइरहेका बेला चट्याङ लाग्दा १० जना महिला घाइते भएका छन्। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ उत्तरमुढाका भीमबहादुर चौधरीको घरमा १३ दिनको पूर्ण तिथिको काममा जुटिरहेका महिलाहरू चट्याङ लागेर घाइते भएका हुन्।
चौधरीको घरको अगाडि अमट्टाको रुख मुनि टेन्ट टाँगेर खाना पकाउने क्रममा चट्याङ् परेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चट्याङ लागेर बर्दगोरिया गाउँपालिका-१ उत्तरमुडाका ५० वर्षीया फिरियादेवी चौधरी, ३५ वर्षीया रितादेवी चौधरी, ३२ वर्षीया माया चौधरी, ४५ वर्षीया कमलापती चौधरी र ३२ वर्षीया किरन चौधरी घाइते भएकी छन्।
चट्याङ परेर ३८ वर्षीया उर्मिला डगौरा, ४० वर्षीया पार्वती चौधरी, ५० वर्षीया फुलकुमारी चौधरी, ३५ वर्षीया निर्मलादेवी थारु र घोडाघोडी नगरपालिका–३ ढुसर की ३० वर्षीया ममता थारु घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
घाइतेहरूको अवस्था सामान्य रहेको र बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस