काठमाडौँ, २३ भदौ । नेपाल राष्ट्र बैंकले बजारबाट एकै दिन १ खर्ब रुपैयाँ तान्न लागेको छ। बैंक तथा वित्तीय संस्थाहरूसँग भएको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले बजारबाट एक खर्ब रूपैयाँ तान्न लागेको हो। बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम तान्न लागेको छ।
यही १९ भदौ गते मात्रै राष्ट्रबैंकले निक्षेप सङ्कलन उपकरणमार्फत बजारबाट ४० अर्ब तानेको थियो ।
राष्ट्रबैंकले जारी गरेको २१ दिने निक्षेप सङ्कलन उपकरणका लागि आइतवार नै बोलकबोल हुनेछ ।
आइतवार ३ बजेसम्म अनलाइनमार्फत् हुने बोलकबोलमा बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० र बढीमा ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन गर्न सक्नेछन् ।
राष्ट्रबैंकको पछिल्लो विवरणअनुसार बैंक तथा वित्तीय संस्थाहरूसँग ६४ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप रहेको छ । जसमध्ये ५१ खर्ब ९९ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूले लगानी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस