after_navbar

स्थानीय तह उपनिर्वाचन: मंसिर २ मा उम्मेदवारी दर्ता


असोज १०, २०८१


काठमाडौ,१० असोज। स्थानीय तहको उपनिर्वाचनका लागि २ मंसिरमा उम्मेदवारी दर्ता हुने भएको छ ।

ad

बिहीबार निर्वाचन आयोगले १६ मंसिरमा हुने उपनिर्वाचनका लागि २ मंसिरमा उम्मेदवारी दर्ता हुने जनाएको हो । निर्वाचन आयोगका अनुसार उम्मेदवारी दर्ता निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मको समय तोकिएको छ । त्यही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

३ मंसिर बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ । त्यही दिन दिउँसो ३ बजेदेखि ४ मंसिर बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ हुनेछ । ४ मंसिरकै दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारी फिर्ताका लागि ५ मंसिरको बिहान ९ देखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । त्यही दिन दिउँसो १ देखि ३ बजेभित्र निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद सापकोटाले जानकारी दिए ।

स्थानीय तहको उपनिर्वाचन भने १६ मंसिरको बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="