सल्यान, २२ असोज । सल्यानबाट दसैँका लागि मात्रै छ करोड मूल्य बराबरको खसिबोका निकासी भएका छन् । दशैका लागि तीन हजारभन्दा बढी खसीबोका निकासी भएका हुन् । जिल्लाको कपुरकोट, कालीमाटी र सल्लीबजार नाकाबाट दसैँका लागि तीन हजारभन्दा धेरै खसीबोका निकासी भएको जानकारी दिइएको छ ।
पशु अस्पताल तथा पशु सेवा कार्यालयले दिएको जानकारी अनुसार त्रिवेणी गाउँपालिकाबाट तीन सय, कपुरकोटबाट एक हजार, कालीमाटी गाउँपालिकाबाट पाँच सय, वनगाड कुपिण्डे नगरपालिकाबाट तीन सय र अन्य पालिकाबाट गरी छ सय खसीबोका निकासी भएका छन् ।
खसीबोका काठमाडौँ, नेपालगन्ज, दाङलगायतका सहरमा निकासी गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका सूचना अधिकारी वीरेन्द्र केसीले जानकारी दिए।
प्रत्येक वर्ष दुई करोड रुपियाँभन्दा बढीको खसीबोका निकासी हुने त्रिवेणी गाउँपालिकाबाट यस वर्ष दसैँका लागि भनेर तीन सय वटा निकासी भएको पालिकाका पशु स्वास्थ्य शाखा प्रमुख वसन्त रावतले बताए।
नजिकिँदै गरेको दसैँका लागि कपुरकोट गाउँपालिकाभित्रबाट भदौको तेस्रो सातादेखि अहिलेसम्म झन्डै दुई करोड मूल्य बराबरका एक हजार खसीबोका निकासी भएको स्थानीय लोकराज बिसीले बताए।
प्रतिक्रिया दिनुहोस