after_navbar

एकलौटी निर्णयको विरोधमा वडाअध्यक्षहरुले गरे कार्यपालिका बैठक बहिष्कार


जेठ १४, २०८२


दाङ, १३ जेठ । तुलसीपुर उपमहानगरपालिकाको ३२ औँ कार्यपालिका बैठकमा १२ जना वडाअध्यक्षले सहभागी नभई बहिष्कार गरेका छन्।

बहिष्कार गर्नेमा कांग्रेस, माओवादी केन्द्र र एमालेबाट निर्वाचित वडाअध्यक्षहरू छन्। उनीहरूले नगरप्रमुख टिकाराम खड्काले एकलौटी ढंगले नगर सञ्चालन गर्दै आएको आरोप लगाएका छन्।

तुलसीपुर–९ का वडाध्यक्ष तथा लेखा समितिका संयोजक घनश्याम ढकालका अनुसार नगरप्रमुखले वडाहरूको आवश्यकता र प्राथमिकता बेवास्ता गर्दै आफ्ना निकटका वडाहरूलाई बजेट बढी छुट्याएका छन्।

उनले बजेट बाँडफाँडमा विभेद गरिएको, निर्णय प्रक्रियामा वडाहरूको सुझाव नलिइएको र पारदर्शिता नभएको आरोपसमेत लगाए।

गत वर्ष चैत २२ गते बसेको ३१ औँ कार्यपालिका बैठकमा बहुमतले अस्वीकृत गरेको शिक्षक दरबन्दी मिलानसम्बन्धी एजेन्डा जबरजस्ती लागू गरिएको भन्दै उनीहरू आक्रोशित बनेका हुन्।

ढकालले भने, “बहुमतले अस्वीकार गरेको एजेन्डा कार्यान्वयनमा लगेर नियम विपरीत काम गरिएको छ। त्यसैले हामी बैठक बहिष्कार गर्न बाध्य भयौँ।”

यसअघि, सोमबार कांग्रेस र माओवादीबाट निर्वाचित वडाअध्यक्षहरूले नगरप्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउँदै कार्यशैली सुधार गर्न आग्रह गरेका थिए।

वडाअध्यक्षहरूको बहिष्कारबीच नगरप्रमुख खड्काले भने बैठक सञ्चालन गरेका छन्।

तर बहुमतको असहमति र चेतावनीलाई बेवास्ता गर्दै नगरप्रमुख अघि बढेको भन्दै वडाअध्यक्षहरूले असन्तुष्टि जनाएका छन्।

उनीहरूले माग सम्बोधन नभएसम्म कार्यपालिका बैठकमा सहभागी नहुने अडान लिएका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="