after_navbar

तुलसीपुरमा जेसीज सप्ताह सुरु: नेतृत्व विकास र सामाजिक उत्तरदायित्वमा जोड


जेठ २५, २०८२



दाङ,२४ जेठ। तुलसीपुर नगर जेसीजको जेसीज सप्ताह कार्यक्रम सुरु भएको छ । शनिबार तुलसीपुर नगर जेसीज वर्ष २०२५ का अध्यक्ष सन्दीप भुसालको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यमा उक्त जेसीज सप्ताह सुरु भएको हो।

कार्यक्रममा बोल्ने वक्ताहरुले सप्ताहव्यापी कार्यक्रम नेतृत्व विकास, संस्था सञ्चालन प्रणाली र सामाजिक उत्तरदायित्वमा महत्वपूर्ण रहेको बताएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री चौधरीले अनुशासन, संस्थागत विधि र व्यक्तित्व विकासको महत्वमा जोड दिए।

उनले भने “जेसीजको पार्लियामेन्ट विधि हरेक संस्थाका लागि सिक्न लायक छ। अनुशासन भनेको व्यवहारको माध्यम हो र नेतृत्वको टिकाउपन आजको युगको आवश्यकता हो।”

कार्यक्रमका संयोजक केशवराज न्यौपानेले सप्ताहव्यापी कार्यक्रमको उद्देश्य, विविध गतिविधिहरू र आगामी योजनाबारे जानकारी गराएका थिए।

संस्थाका पुर्व अध्यक्ष प्रदिप धिताल, दिपेष भण्डारी, मानबहादुर बस्नेत, पत्रकार तथा संवाद सहजकर्ता सुशील,प्याब्सन तुलसीपुरका अध्यक्ष डम्बर डांगी, चेम्बर अफ कमर्शका महासचिव दुर्गा शर्मा,दाङ लेडी काबा अध्यक्ष लक्ष्मी घमाल,लमही जेसीज अध्यक्ष रामदिप चौधरी लगायतले जेसीजको मूल्य र मान्यतामा आधारित कार्यशैलीले व्यक्तिलाई सफल बनाउने दाबी गरे।

सामाजिक रूपान्तरणमा जेसीजको योगदान उल्लेख गर्दै जलवायु परिवर्तन र दुर्व्यसन विरुद्ध दीर्घकालीन कार्यक्रम आवश्यक रहेको बताएका थिए । उनीहरूले अनुशासन र संस्थागत अभ्यासले व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे।

सप्ताह प्रारम्भ समारोहमा विभिन्न तहका पदाधिकारी, युवा सदस्य, समाजसेवी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो। वक्ताहरूले जेसीज सप्ताहलाई समाजप्रति प्रतिबद्धता प्रदर्शन गर्ने उत्कृष्ट अवसरका रूपमा मूल्यांकन गरेका छन्।

कार्यक्रमको सहजीकरण महासचिव बुद्धिराज सापकोटाले गरेका थिए। जेसीज सप्ताह जेठ ३१ गतेसम्म चल्ने छ।

प्रतिक्रिया दिनुहोस

data-href="