काठमाडौँ, ३१ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका कुनै पनि सदस्य भ्रष्टाचारमा संलग्न देखिएमा त्यसको जिम्मेवारी सिंगो पार्टीले नलिने स्पष्ट पारेका छन्।
शनिबार काठमाडौंमा आयोजित तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टीले जनताको असन्तुष्टि बुझ्नुपर्ने आवश्यकता औंल्याए। “जनताले नेताहरूले आफ्नै स्वार्थका लागि सोच्ने, घुस खाने गरेको ठान्छन्,” थापाले भने, “एउटा व्यक्ति चुकेको कारणले सारा पार्टीले गाली खानुपर्ने अवस्था आउँछ। तर कांग्रेस अब त्यो भारी बोक्दैन।”
उनले थपे, “भ्रष्टाचारमा संलग्न कोही पनि पार्टी सदस्य भए उसले व्यक्तिगत रूपमा त्यसको जिम्मेवारी लिनुपर्छ। कांग्रेसले त्यसमा कुनै सम्झौता गर्दैन। पार्टीको औपचारिक धारणा स्पष्ट छ— सार्वजनिक जवाफदेहितामा चुक्ने व्यक्ति पार्टीको संरक्षणमा रहने छैन।”
महामन्त्री थापाले कांग्रेसभित्रको गुटबन्दी अन्त्यका लागि संगठनात्मक संरचना सुधारको आवश्यकता रहेको धारणा पनि राखे। उनका अनुसार, क्रियाशील सदस्यहरूबाट प्रत्यक्ष रूपमा पार्टी सभापति चयन गर्ने व्यवस्था गरिएमा गुटबन्दी अन्त्य सम्भव छ।
“हाल कांग्रेसमा ८ लाख ६६ हजार क्रियाशील सदस्य छन्, सबै गरेर करिब १२ लाख सदस्य छन्,” उनले भने, “हामीले यदि बुथमै गएर प्रतिनिधि चयन गर्ने र त्यो प्रतिनिधि मार्फत सभापति चयन गर्ने प्रविधि अपनायौँ भने, १२ लाख सदस्यले अप्रत्यक्ष रूपमा सभापति छान्न सक्नेछन्। यसले गुटबन्दी हटाउन सघाउँछ।”
थापाले प्राविधिक सुविधा प्रयोग गर्दै पार्टीभित्र लोकतान्त्रिक प्रक्रिया सुदृढ गर्नु आवश्यक रहेको बताउँदै पार्टी सुधारको पक्षमा सबै नेताहरू सहमत भए मात्र कांग्रेसभित्रको समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस