टीकापुर ,१७ असार । कैलालीमा एक वृद्धाको हत्या भएको छ। कैलालीको जानकी गाउँपालिका–९ अमरावतीमा एक ८० वर्षीया वृद्धाको धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरिएको छ।
अमरावतीस्थित दुई तले घरमा एक्लै बस्दै आएकी मातादेवी शाहीको आज बिहान घरमै शव फेला परेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी नवीन राजा बुढाथोकीले जानकारी दिए।
घटनास्थलमा पुगेको प्रहरीका अनुसार शाहीको टाउको, घाँटी र छातीमा गम्भीर चोट लागेको छ। धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रारम्भिक अनुमान गरिएको छ।
मृतकका एक छोरा काठमाडौं र अर्को छोरा टीकापुरमा बस्दै आएका थिए। शाहीको शव घरको माथिल्लो तलामा भेटिएको प्रहरीले जनाएको छ।
घटनाबारे स्थानीयवासीले खबर गरेपछि अनुसन्धानमा खटिएको टोलीले शंकास्पद एक जनालाई नियन्त्रणमा लिएको छ। ‘नियन्त्रणमा लिएका व्यक्तिसँग सोधपुछ भइरहेको छ। अहिले नै केही ठोस भन्न सकिने अवस्था छैन,’ डीएसपी बुढाथोकीले भने।
मृतकको शव टीकापुर अस्पतालमा पोस्टमार्टमको तयारी भइरहेको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस