after_navbar

जनार्दन शर्मामाथि कारबाहीको माग


श्रावण १७, २०८२


सुभाष साह, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’माथि अनुशासनको कारबाही गर्न अध्यक्षमाथि दबाब बढेको छ ।पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध निरन्तर सार्वजनिक अभिव्यक्ति दिएपछि उनलाई अनुशासनको कारबाही गर्न अधिकांश स्थायी समिति सदस्य एकमतजस्तै देखिएका छन् ।

ad

शुक्रबार -आज_ माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बस्दै छ । सो बैठकमा उपमहासचिव शर्मालाई अनुशासनको कारबाही गर्नुपर्ने आवाज प्रचण्डनिकट नेताले उठाउँदै छन् । गत बुधबार बसेको पदाधिकारी बैठकमा समेत यस विषयले प्रवेश पाएको थियो ।

अनुशासनको विषय पदाधिकारी बैठकमा उठेको भए पनि त्यस’दयगतमा थप छलफल र निर्णय भने स्थायी समिति बैठकबाट हुँदै छ । शर्मानिकटका नेता यो विषय केन्द्रीय समिति बैठक हुँदै महाधिवेशनसम्म लम्ब्याउने आन्तरिक रणनीतिमा छन् ।

प्रचण्डले पार्टी नेतृत्व छोड्नुपर्ने र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने भन्दै शर्माले नेतृत्वमाथि निरन्तर ‘हमला’ गर्दै आएको बुझाइ पार्टी नेतृत्वको छ । यता, शर्माले नेतृत्व हस्तान्तरणको कुरा गर्दा पार्टी नै छोडेर ‘जा’ भन्दै तर्साउने गरिएको बुझाइमा शर्मा छन् ।

गत ६ साउनमा उपमहासचिव शर्माले नेपालका कम्युनिस्ट पार्टीहरू सामन्ती झुण्डमा परिणत हुन थालेका टिप्पणी गरेका थिए । साथै, मनमोहन अधिकारीबाहेकका कम्युनिस्ट प्रधानमन्त्रीहरू ‘असुली’ धन्दामा लागेको कडा टिप्पणी गरेपछि पार्टी नेतृत्व उनीबाट असन्तुष्ट बनेको हो ।

शर्माले विशेष महाधिवेशन गरी पार्टीको पुनर्निर्माण, नेतृत्व हस्तान्तरण, आन्तरिक लोकतन्त्र (जनवादी केन्द्रियता) कमजोर भएको विषय सार्वजनिक रूपमै उठाउन थालेपछि यो असन्तुष्टि प्रचण्डसहितका नेताले अनुशासनको कारबाहीको विषय अगाडि बढाउन लागेको बताइन्छ ।

माओवादी केन्द्रका सचिव दीनानाथ शर्माले पार्टी नेतृत्व, नीति एवं कार्यक्रमकै विरुद्धमा अभिव्यक्ति दिनेलाई अनुशासनको कारबाहीको विषय पनि बैठकमा आउने बताए । साथै, केन्द्रीय कमिटी बैठक, योजना, पार्टी एकताबाट आएकालाई जिम्मेवारीसहित पछिल्लो राजनीतिक अवस्थाका ’दयगतमा बैठकमा छलफल हुने एजेन्डा रहेको उनले बताए ।

उपमहासचिव शर्माले पार्टी नेतृत्वकै विरुद्धमा अभिव्यक्ति दिएपछि अध्यक्ष प्रचण्डले उनलाई इंगित गर्दै पार्टीभित्र ‘सिँगौरी खेल्न दिएको’ अभिव्यक्ति दिएका थिए । शर्माले पार्टी नेतृत्व हस्तान्तरणको विषयलाई पटक–पटक उठाएपछि प्रचण्ड असन्तुष्ट छन् ।

प्रचण्ड र शर्माको सार्वजनिक रूपमै यस्तो अभिव्यक्ति आउन थालेपछि प्रचण्डनिकटका नेताहरूले शर्माका विरुद्धमा सार्वजनिक रूपमै अभिव्यक्ति दिन थाले । अब यो विषय पार्टी बैठकमै उठाउँदै अनुशासनको ‘डन्डा’ चलाउने रणनीतिमा पार्टी नेतृत्व रहेको छ । प्रचण्ड र शर्माका बीचमा टकराव बढ्दै गएपछि पार्टी नै विभाजनको डिलमा पुगेको विश्लेषण भइरहेको छ ।

पार्टी महासचिव देव गुरुङले पार्टीको आन्तरिक एकताको प्रस्ताव गर्दै अनुशासनको विषयसमेत बैठकमा प्रवेश गराउँदै छन् ।

माओवादी नेतृत्वमाथि यसअघि खुलेर कसैले असहमति राख्न सकेका थिएनन् । असन्तुष्ट बनेपछि मोहन वैद्य, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेताहरूले पार्टी नै छाडेका थिए । तर, एमालेमा जस्तो आन्तरिक असन्तुष्टिलाई लिएर कारबाहीमा भने अहिलेसम्म माओवादी उत्रिएको छैन । पछिल्ला दिन एमालेले भीम रावललगायतका नेतालाई गरेको कारबाहीकै जस्तो बाटोमा जाने संकेत माओवादी नेतृत्वले देखाउन थालेको छ ।

नेतृत्वबाटै फुटको हल्ला !
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पार्टी विभाजनको अनावश्यक प्रचार गर्नेबाट सचेत हुन आग्रह गरेका छन् । माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने प्रचार गरिएको समेत उनले आरोप लगाएका छन् । माथिलो तह भने पनि त्यस तहमा रहेका नेताको पहिचान भने उनले खुलाएका छैनन् ।

‘विगत २ वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरूप्रति सचेत हुन आग्रह गर्दछु,’ सामाजिक सञ्जाल फेसबुकमा शर्माले लेखका छन् ।

यस्तै, उनले गत वर्ष सबै प्रदेशमा भएको परामर्श बैठकपछि केन्द्रीय समितिको बैठकमा भएको बहस र निर्णयअनुसार असारदेखि प्रारम्भ गरेर ६ महिनाभित्र अर्थात् मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको सन्दर्भमा अब पार्टीमा एजेन्डा केन्द्रित बहस गर्नुपर्ने जनाएका छन् । यसले पार्टीको पुनर्गठन, सुदृढ र व्यवस्थित गर्न मद्दत पुग्ने शर्माको निष्कर्ष छ ।

पार्टी केन्द्रको निर्णयअनुसार हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग अभियानबाट आर्जित ऊर्जालाई दुईबुँदे सहमतिपश्चात गिरेको पार्टीको साखलाई पुनः माथि उठाउन गम्भीर आत्मसमीक्षा गर्दै एजेन्डा केन्द्रित बहसमा केन्द्रित हुनुपर्ने उनले जनाएका छन् ।

‘यतिबेला देश, जनता र राजनीतिक पार्टीहरू गम्भीर संकटबाट गुज्रिरहेका छन् । यसको समाधान संविधानको संशोधन, अर्थतन्त्रको पुनसंरचना र पार्टीको पुनर्गठन नै हो,’ शर्माले भनेका छन् ।


नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा प्रवेश गरेलगत्तै नेता वामदेव गौतम असन्तुष्ट देखिन थालेका छन् । गत २ साउनमा उनी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । पार्टीमा गौतम तेस्रो मर्यादाक्रमका नेता भए पनि उनी असन्तुष्ट छन् । पार्टी प्रवेशको एक महिना नपुग्दै उनले असन्तुष्टि पोख्न सुरु गरिसकेका छन् ।

कहिले संगठन विभाग प्रमुख त कहिले के खोज्दै उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई समेत गुनासो पोख्न थालेका छन् । पार्टीमा जिम्मेवारी नभएको भन्दै उनले जिम्मेवारी खोजेका छन् । तर, पार्टीले उनलाई जिम्मेवारी दिनै बाँकी रहेको छ ।

पार्टीको बैठकबाट उनले तोकिएरै जिम्मेवारी पाउने भए पनि त्यसअघि नै उनले गुनासो पोख्नु कुण्ठा मात्रै रहेको एकीकृत समाजवादीकै नेताहरू बताउँछन् । ‘वामदेव जहाँ जान्छन्, जहाँ हुन्छन् त्यहाँ विवाद र झमेला आउनु नौलो होइन, यो त उहाँको नेचरजस्तै भएको छ,’ एकीकृत समाजवादीका एक नेताले भने ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="