after_navbar

चोरीको नाटक गर्दा आफै फसिन चन्द्रकुमारी


श्रावण २०, २०८२


स्याङ्जाको आँधीखोला गाउँपालिका–१ की ४१ वर्षीया चन्द्रकुमारी गुरुङले आफैंले लुकाएको सुन र नगद हराएको भन्दै झूटो उजुरी दिएपछि गाउँमा सनसनी फैलिएको छ। साढे ७ तोला सुन र ४ हजार रुपैयाँ नगद हराएको दाबी गर्दै उनले गत १२ साउन साँझ प्रहरीमा उजुरी दिएकी थिइन्।

ad

तर सात दिनसम्मको सूक्ष्म अनुसन्धानपछि प्रहरीले यो घटना चोरी नभई योजनाबद्ध नाटक रहेको ठहर गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टोलीले अनुसन्धान गर्दा चन्द्रकुमारीले गाउँकै ३८ वर्षीय युवक धनराज गुरुङसँग मिलेर ती सामग्री लुकाएको खुलेको हो। धनराज गाउँका अगुवा र स्थानीय युवा क्लबका अध्यक्षसमेत हुन्।

प्रहरीका अनुसार चन्द्रकुमारीका पति विदेशमा छन् भने उनी र धनराजबीच विवाहेत्तर सम्बन्ध रहेको आशंका गरिएको छ। उजुरीपछि प्रहरी निरीक्षक प्रवेश तिवारीको नेतृत्वमा खटिएको टोलीले जब जब चन्द्रकुमारीसँग सोधपुछ गर्थ्यो, तब धनराज नै उनको सट्टामा बोलेर जवाफ दिन्थे। यही आधारमा प्रहरीले धनराजमाथि शंका गर्दै अनुसन्धानको दिशा सोझ्याएको थियो।

पछिल्ला दिनमा पञ्चमूल क्षेत्रमा १५ घरमा भएको चोरी घटनामा समेत संलग्नता नखुलेपछि स्थानीयबीच आक्रोश बढेको थियो। त्यतिबेला पनि धनराज अगुवाको भूमिकामा देखिएका थिए।

प्रहरीले सोधपुछमा उनीहरूको व्यवहार शंकास्पद पाएपछि धनराजको घरमा समेत खानतलासी गर्‍यो। प्रहरीले अनुसन्धानमा असहयोग गर्न थालेपछि थप फोर्स मागेर दबाब बढायो। अन्ततः, चन्द्रकुमारीकै घरको कम्पाउन्डभित्र लुकाइएका गहना र नगद बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ।

झूटो निवेदन दिएर प्रहरी प्रशासन झुक्याएको आरोपमा चन्द्रकुमारी र धनराजलाई साउन १७ गते पक्राउ गरिएको छ। दुवैविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="